ताकत दरो देउ न हे शारदा
यो ब्रह्माण्ड सरक्क चल्छ सरिता यो खेल मैदानमा
हो संसार अनेक साधन कला दृष्टि सुसंस्कारमा
मानौ स्वर्ग छ यो भूमि झिलिमिली संपन्नताको कडी
यै धर्ती सुकुमार बन्दछ नयाँ शिक्षा लिदाको घडी ।। १ ।।
शिक्षा स्वार्थ रहित हुन्छ सबले गर्छन भने साधना
आफ्नो मात्र तरक्कि देख्दछ जसले मेटिन्छ संभावना
भन्छन मानिस देव लोक छ ठूलो सन्मार्गको साधक
ज्ञानी बन्दछ लोक काल समगा आफ्नै हुँदा जो हक ।। २ ।।
यस्तो शिक्षण हुन्छ मन्दिर भरी शिक्षालय छन कति
यो संसार बनाउने शिप कला शिकाउँछन् जे जति
शिक्षाको दिप युगको नविनता संसार ढाक्ने गरि
प्राणीको सुकुमार भाव महिमा खोजेर राखे सरी ।। ३ ।।
देवीकै घर हो सबै जन जति बस्छन बनाई घर
देवी शक्ति सुधा कृडा थल भरि साझा बनेको भर
मान्छे रंगिन कर्म धर्म जति जे संस्कृतिमा घेरिदै
यो ब्रह्माण्ड सरक्क ढाक्छ सहसा बर्दानमा बेरिदै ।। ४ ।।
संसारै पुलकित बन्नु छ यहाँ यौटा बने पुग्छर
धर्ति हो सब प्राणीको बुझ सधै साझा छ सिंगो घर
यै हो मन्दिर शिप सस्कृति शिकौ संपन्नता बर्षदा
शान्तिको दिप बाल्न ताकत दरो देउ न हे शारदा ।। ५ ।।
बाबाधामको कोसेली २३ माघ २०७८
शिव अधिकारी- सरस्वतीको महिमा बसन्त पञ्चमी
बाबाधाम कोटेश्वर काठमाण्डौ