
टिका प्रसाद घिमिरे
अध्यक्ष : नेपाल डेरी एसोसिएसन ( बागमती प्रदेश )
नेपालको दुग्ध क्षेत्रको अवस्था दिन दिनै झन् झन् कठिन अवस्थातिर धकेलिंदै छ । अब यसलाई सन्तुलन राख्न नसक्ने र सरोकारवालाहरु नलाग्ने हो भने आउने दिन थप कठिन हुने निश्चित प्रायः छ । आजको यो माघ फागुनको समय भनेको दुध बढि हुने समय हो तर पनि आजका दिन दुध नपुग्ने अवस्था छ । अब झन् चैतपछि दुधको उत्पादन कम हुने र खपत बढि हुने सिजन आउँदैछ । अहिलेको यो अवस्था हेर्दा सिजनमा यसपटक धेरै नै दुध नपुग हुने अनुमान गर्न सकिन्छ । यस पटक कोभिडका कारण किसानले बिक्रि नभएर दुध पोख्न समेत बाध्य हुनु पर्यो । जसका कारण किसान ठूलो मारमा परे । कयौं किसान नोक्सान सहन नसकेर यो पेशाबाटै पलायन भए । यसरी दुध पोख्ने घटना वर्षेनि देखिने गरेका छन् । यस्ता घटनाने तेति नै बेला तेहि समय असर नगरे पनि दीर्घकालमा समस्या निम्ताउने गर्दछ। उत्पादित दुध बजारमा खपत नहुने र त्यसपछि किसानले बाध्य भएर दुध पुख्न परेको हो । बिक्री हुन नसकेको दुधलाई पाउडर बनाएर राख्दा लागत बढि हुने र चालु पुजी पाउडर बटरमा अड्किएर अफ्ठ्यारो स्थिति आउने हुँदा त्यो पनि त्यति सजिलो नभएको देखिन्छ जसका कारण मिल्क होलिडे हुने गर्छ । दुध बढि भएको बेला बनाएको पाउडर लगभग ५-६ महिना बजारमा जान नसक्ने र पुजी स्टक भएर बस्दा चल्नै गार्हो हुने गरेको छ । जसका कारण किसानको भुक्तानी समयमा नहुने र अफ्ठ्यारो अवस्था सृजना हुने गर्दछ ।
हाम्रो देशको दुध उत्पादनमा फल्स सिजन ( धेरै उत्पादन हुने ) र अर्को लिन सिजन ( कम उत्पादन हुने ) हुन्छ । फ्ल्स सिजनमा दुधलाई कन्भर्जन गरेर पाउडर बनाएर राख्ने र पुनः लिन सिजनमा दुध बनाएर बिक्री गर्ने गरिन्छ । यसरी पाउडर दुधलाई पुनः झोल दुध बनाउँदा लागतमा २१ प्रतिशतसम्म वृद्धि हुने गर्दछ । यसको अर्थ दुध कन्भर्जन गर्दा लागत बढी हुन्छ र त्यसले फाइदा हुँदैन । यो ठूलो समस्या हो । उत्पादन बढी हुुँदा स्टक गरेर राख्न समस्या हुने र कम उत्पादन हुँदा बजारको माग धान्न समस्या हुने हुँदा यो अवस्थाले दुग्ध व्यवसाय अति नै कठिन हुँदै जान थालेको छ। उद्योगले १२ महिना नै किसानको दुध किन्न पर्ने हुन्छ । यदि त्यसरी लिन नसक्ने हो भने फेरि उद्योगले सधैं दुध नपाउने हुन्छ । यसकारण उद्योगीले किसानको दुध जसरी पनि किन्नुपर्ने बाध्यता छ। फेरि यदि उद्योगीले दुध नकिन्ने हो भने किसान पेशाबाट नै पलायन हुने अवस्था आउँन सक्छ । त्यसरी किसान पलायन हुँदा पनि पुनः उद्योगमै असर पर्छ । त्यस कारण पनि आम उद्योगले बढी भएको दुधलाई जसरी पनि घाटानाफा नहेरी कन्भर्जन गरेर किसानलाई राहत दिने प्रयास गर्ने गरेका छन् । तर यो दीर्घकालीन समस्याको समाधानको उपाय भने हैन ।
किसानले सधैं आवश्यक दुध उपलब्ध गराउँछन् भन्ने आशमा उद्योगले बढी हुँदाको दुध सधैँ किनेर कन्भर्जन गर्न थाल्ने हो भने एक दिन उद्योग आफैं आर्थिक रुपमा कमजोर बन्ने पक्का छ । दुध बढि हुँदा पाउडर बनाउने मात्र होइन अब अन्य दुग्ध पदार्थ पनि बनाउन तिर लाग्नुपर्छ । मिल्क होलिडे हटाउनको लागि छुर्पी उद्योग पनि अति नै उत्तम हो । अब हामीले छुर्पीको पेटेन राइट लिई हाम्रो मौलिक उत्पादनको जगेर्ना गर्दै आर्थिक रुपमा पनि यसबाट फाइदा लिनतिर लाग्नु पर्छ । यसरी काम गर्दा सबै पक्षलाई सहयोग पुर्याउन मद्धत पुग्दछ । त्यस्तै अन्य विभिन्न थरीका परिकार बनाउन सकिन्छ । अबको आवश्यकता भनेको यस्ता कुराको उत्पादनमा लाग्नु हो ।
यहाँ अहिले औपचारिक क्षेत्रको बजार अनौपचारिक क्षेत्रले लियो अनि अनौपचारिक क्षेत्रको बजार अर्को अहिले नयाँ कोभिडपछि लकडाउनबाट होम डेलिभरि फार्मको नाममा घर घरमा पुर्याउने वालाहरुले लिए भन्ने कुरा उठिरहेको छ । अब किन त यस्तो ? भन्ने विषयमा गहन छलफल गर्न आवश्यक छ। बढी मुल्य तिरेर फर्मल क्षेत्रको दुध खान छाडेर किन इनफर्मल र फार्मको दुधमा आम उपभोक्ता इच्छुक भए त ? यो कुरा अति नै गम्भीर छ । अब फर्मल सेक्टरका उद्योगले यो विषयमा छलफल गरि आफ्नो पनि कमिकमजोरी छ कि ? भनेर सोच्ने बेला आएको छ । होइन भने बढि मुल्य तिरेर किन त फेरि आम उपभोक्ता इनफर्मल र फार्मको दुधमा आकर्षण भएका ? अब अरुलाई मात्र दोष लगाएर हुँदैन । आफ्नो तर्फबाट गर्नुपर्ने सबै क्रियाकलाप अनिवार्य गरेपछि मात्र हामीले अरुलाई भन्न मिल्छ ।
सबै डेरी उद्योगले किसानको समस्याप्रति चिन्तित भएर किसानलाई निराश हुन हुँदैन । दुध बढी हुँदा र कम हुँदा सबै उद्योगहरु मिलेर समाधान गर्नुपर्दछ। यहाँ दुध बढि र घटी भएर समस्या आउँदा कसैको थाप्लोमाथि दोष आउने काम गर्नु हुँदैन । औपचारिक र अनौपचारिक क्षेत्र भनेर अनावश्यक तर्क वितर्कतिर लाग्नु हुन्न । बरु जहाँ जसले जे गरेर भए पनि दुधको बजार बिस्तार भएको छ त्यो नै सकारात्मक पक्ष हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ। देशभर ५ लाखभन्दा बढि किसान घरपरिवार यो पेशामा लागेका छन् । ३० हजारजनाभन्दा बढिले उद्योग तहमा रोजगार पाएका छन् । दैनिक ६ करोडभन्दा बढि रकम शहरबाट गाउँमा जाने गरेकोछ । अरु लाखौं जनाले विभिन्न तहमा रोजगार पाएका छन् । यसले गर्दा आम किसानलाई स्वरोजगार मिलेको छ । त्यसैले अब यो क्षेत्रमा सबै पक्ष उत्तिकै गाम्भीर हुन आवश्यक छ । यो कुरामा राज्यको विशेष ध्यान जानुपर्ने देखिन्छ । राज्यलाई सिजनेबल उत्पादन हुन्छ भन्ने थाहा छ । यहाँ दुध उत्पानमा लिन सिजन र फल्स सिजन गरि दुई सिजन छन् । यसले आम उद्योग र किसानलाई ठूलै समस्यामा पारेको हुन्छ । तर यसको व्यवस्थापन गर्ने पहलकदमी आजसम्म खासै कहीँंकतैबाट भएको छैन । फल्स सिजनको दुध जसले पाउडर बनाई गोदाम गरेर राख्छ त्यसलाई आकर्षित गर्न सरकारले थप सुविधा दिनुपर्छ । यसो हुँदा किसानको दुध निरन्तर बिक्री हुने अवस्था हुन्छ र आम किसानलाई फाइदा पुग्न जान्छ ।
किसानले बजारमा लगेर बेच्न नसकेर बढी भएको दुधलाई कन्भर्जन गरि पाउडर बनाउन लाग्ने लागत घटाउन सरकारको भूमिका हुनुपर्छ । किसानको बिक्रि हुन नसकेर खेर जाने दुध कन्भर्जन गर्ने उद्योगलाई राज्यले जतिसक्दो चाँडो प्रबर्द्धन गरिनुपर्छ । मूल्य निर्धारण गर्दा पनि फल्समा कम र ड्राइमा बढी गर्न सके सबैको हित हुनेछ । स्टक भएको उत्पादनको मूल्य बढ्ने ग्यारन्टी र यदि बिक्रि हुन नसके सामान राज्यले खरिद गर्ने जिम्मा लिनुपर्छ। यसो हुँदा कन्भर्जन गर्नका लागि सहयोग पुग्नेछ । सरकारले आम उद्योगलाई विद्युत, भ्याट आदि के केमा सहुलियत दिन मिल्छ सबैमा दिनुपर्छ । यसो गर्दा मात्र उद्योगीको मनोबल बढ्न गइ दुग्ध बजारको भविष्य सहज हुन जान्छ र रोजगारको पनि बिस्तार हुन्छ ।
दुग्ध उद्योगको क्षेत्र प्रत्यक्ष उपभोक्तासँग सम्बन्धित छ । त्यसैले उद्योगले बजारमा पठाउने दुध, दही, घ्यु, मही, बटर तथा दुधमा आधारित अन्य उत्पादनहरू चीज, पनिर, आइसक्रिम लगायतका उत्पादन गुणस्तरीय हुनुपर्छ भन्नेमा उद्योग सधैं सजग हुनैपर्छ । सरकारले तोकेको मापदण्ड पूरा गरेर गुणस्तरीयता कायम गर्न प्रतिबद्ध भएर अगाडि बढ्न आवश्यक छ । तर गुणस्तर कायम राख्न विभिन्न तहमा रहेका व्यक्ति तथा निकायहरूको उत्तिकै भूमिका रहन्छ। गोठदेखि ओठसम्मको मूल्य शृङ्खला मध्ये एउटा पाटो मात्र उद्योग हो । बाँकी अन्य पक्षल्ले सुधार गर्न भूमिका निर्वाह गरिनुपर्छ अनि मात्र हामीले सोचेको र भनेको जस्तो सुधार हुन सक्छ । होइन भने एकै ठाउँबाट मात्र सुधार गर्न सम्भव छैन । सबै तह र तप्काका आम मानिसलाई उत्तिकै जिम्मेवार बनाएर अगाडि बढाउन सके मात्र सबैको इच्छा र चहाना पुरा हुन सक्छ । किसानले गाई भैँसी पाल्ने गोठको गुुणस्तर, गाई, भैँसीले खाने दाना र घाँसको अवस्था, उपचारमा प्रयोग हुने औषधीहरू, दुध दुहुँदा अपनाउनुु पर्ने सरसफाई, मिसावट हुनबाट रोक्नुपर्ने अवस्था, सङ्कलन केन्द्रको सरसफाइ र उपकरणको अवस्था, कोल्ड स्टोरको अवस्था, उद्योगमा गरिने प्रशोधन र बजारमा पठाइने प्रक्रियाहरू लगायतका अवस्थाहरू सबैतिर स्वस्थ्य दुध उत्पादनका लागि प्रतिबद्ध भइ लाग्नुपर्छ । राज्य तर्फबाट पनि आवश्यक कार्यक्रम तथा नियमन, अनुगमन कार्यलाई सकारात्मक तवरले अगाडि बढाउँदा मात्र गुणस्तर सुधारमा मद्दत पुग्दछ ।
पटक पटक दुधमा विभिन्न मिसावट गरेको प्रश्न उठ्ने गरेका छन् । कतिपय अवस्थामा उद्योगदेखि फार्मसम्म कमजोरीहरू नहुने हैनन् । तर कहाँबाट कमजोरी भयो त्यसलाई चाँहि जिम्मेवार बनाउनु पर्यो । गोठमा भएको समस्यालाई लिएर उद्योगमा प्रश्न उठाउन भएन भने बजारमा भएको समस्यालाई लिएर किसानलाई गोठमा प्रश्न गर्न भएन । अहिले पछिल्लो समय उद्योग क्षेत्रमा धेरै नै सुधार आइसकेको छ । किसानले पनि धेरै नै सजगता अपनाइ सकेको पाइन्छ । यद्यपि सुधारको निरन्तरता भने रहिरहनुपर्ने हुन्छ । नेपालमा उत्पादन हुने पाउडर दुधमा पनि अहिलेसम्म गुणस्तरमा खासै प्रश्न उठेको छैन् । अब हामीले विस्तार अन्य दुग्ध पदार्थ उत्पादनमा ध्यान दिई बाहिरबाट आयात हुने दुग्ध पदार्थलाई निरुत्साहित गरि स्वदेशी उत्पदनलाई प्रोत्साहन गर्नतिर लाग्नु आजको प्रमुख आवश्यकता रहेको छ । खुला सीमानाका कारण कहिलेकाहीँ गुणस्तरहीन दुध तथा दुग्ध पदार्थ बाहिरबाट आयात हुँदा भने यहाँका उद्योगी र उपभोक्ता दुवैले समस्या भोग्नु पर्ने अवस्था आइरहेको हुन्छ । यो क्षेत्रलाई नियमन गर्ने कृषि तथा पशुपञ्छी विकास मन्त्रालय र मातहतका निकायले नियमित अनुगमन बढाउने र दुध तथा दुग्ध पदार्थको थप सुधारमा सहयोग गर्न आवश्यक छ । बाहिरबाट आयात हुने बस्तुभन्दा यहाँको उत्पादन आकर्षक र सस्तो हुन सक्ने हो भने बजारमा कुनै समस्या आउने छैन ।


