
१ फागुन २०७८, काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
उद्घाटनपछि बोल्दै कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भए पनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनः पुस्तक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो— “नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।” उहाँले पाठकहरूको मागलाई आत्मसात गरेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको र यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो ।
पुस्तक प्रदर्शनी उद्घाटन कार्यक्रममा माननीय उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपालको उपस्थिति रहेको थियो ।
प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।


