
गोरखा, ९ फागुन । गोरखाको सिरानचोक गाउँपालिकामा नेपाली काँग्रेसको पार्टी कार्यालय स्थापना भएको छ ।
गोरखा क्षेत्र नं २ को प्रदेश (ख)मा रहेको सिरानचोक गाउँपालिकामा निर्माण गरिएको पार्टी कार्यालयको आज काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सत्तारले आगामी तीनै तहको निर्वाचनमा गोरखामा काँग्रेसलाई विजय गरेमात्र गोरखाको विकासले गती लिने बताउनुभयो ।
काँग्रेस सिरानचोक गाउँपालिकाका सभापति भक्तबहादुर गुरुङले पार्टीका गतिविधिलाई सहज ढंगले अगाडि बढाउनका लागि पार्टी कार्यालय स्थापना गरेको बताउनुभयो । पार्टी कार्यालय स्थापनासँगै तीनै तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सहज पुग्ने गुरुङको भनाई छ ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस सिरानचोक गाउँपालिकाका पदाधिकारी एवम् सदस्य, काँग्रेस गोरखाका पदाधिकारी एवम् सदस्य र क्षेत्रीय प्रतिनिधीको सहभागीता रहेको थियो ।


