रूपा थापा – नुवाकोट
म भित्रको एउटा मानिसलाई
बन्दी बनाई झ्यालखानामा
मेरो ढाडमा मर्यादाको लक्षमण रेखा खिच्ने
को होस त ?
खुल्ला छाडेर गल्लि गिल्लिमा तेरो साढेलाई
मेरो बाछीलाई बाटो बदल भन्ने
को होस त?
बदाम बेचेर पनि
गिट्टि कुटेर पनि
टेम्पो कुदाएर पनि
सुन्तला बेचेर पनि
चटपटे र पानी पुरी बेचेरै भए पनि
मनमाया हरुले जसो तसो पेट त भरेका छन
तर आदर्सका ठुला ठुला कुरा गरेर बास्ने
ए पितृ सत्ताका भालेहरु
उनिहरुका छोरीलाइ सुरक्षित बाच्न नदिने
साच्चै भन्नु पर्दा
यो समयको एउटा क्रृर हत्यारा होस त ।
हजुर आमाले सहिन
आमाले सहिन
तर अब मेरी छोरीले सहन्न भन्दा
हातको स्मार्टफोन बाट
पितृ सत्ताको उहीँ पुरानो गन्धलाई डकार्दै
कलिला अनि पाका स्यालहरु यसरी हुइया गर्छन
सहने ठेक्का त तिमीहरुको मात्र हो
ओइ यो सहने ठेक्का मैले
अब तलाइ नै छाडिदिए
भन के गर्छस अब त ।
ओइ मनमाया छाडिदे
उम्लिरहेको दुधलाई कराइमा
ओइ चमेली
छाडिदे ओडल्दा ओडल्दैको ढेडोलाई अगेनोमा
र रोकिदे यो श्रृष्टिको मुहानलाई
जो स्विकार्न सक्दैन त भित्रको मानिसलाई ।
यता जा उता नजा
यसरी बस उसरी नबस
ओइ ट्राफिक होस के त मेरो जीन्दगीको ।
मेरो योनि र स्तनमा मात्र झल्किने
तैले भनेको तेरो चरित्रको ठेक्का
तलाई नै सुम्पेर
तैले कोरेको लक्षमण रेखालाई तोडेर
आजै बाट मान्छे बन्न हिडे म त ।
ओइ स्याना स्याना चिचिला चल्लाहरु
अनि पाका भालेहरु
मर्यादाको सिमालाई भत्काएर बग्दा
जे जे शब्द मलाई भन्छस नि
त्यो सबै शब्द तलाई नै फिर्ता दिएर
तेरो मर्यादाको झोला
तलाई नै फ्याकेर
हिडे म त केवल मान्छे बन्नलाई ।
सत्तामा बा
शक्तिमा बा
कस्ले सुन्छ र यहाँ मेरी आमाको कुरा
त्यसैले यो एक थान योनि र स्तनलाइ
मैले तेरै हातमा सुम्पेर
अनि सारा श्रृष्टिलाई रोकेर
तलाई तेश्रोे विश्वयुद्दको चुनौति दिदै
एउटा मानिस बन्न हिडे म त ।
“Gender equality today for a sustainable tomorrow” भन्ने अन्तराष्ट्रिय नारा र “सामाजिक न्याय र लैङ्गिक समानता भन्ने दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराकाे साथ मनाउन गै रहेकाे ११२ अैा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे पावन अवसरमा सम्पुर्ण महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु