
काठमाडौं, चैत २ गते ।
डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ ।
इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली पारा गेम्समा पनि सिर्जनले रजत नै जितेकी थिइन् । प्रशिक्षकमा कविराज नेगी लामा छन् ।
बक्सिङ छनोट शनिबारदेखि
थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ४८ केजी, ५४ केजी र ६३ केजी तौलसमूहमा खेल हुने छ । महिलामा ४८ केजी, ५४ केजी ५७ केजी र ६० केजी तौलसमूहमा भिडन्त हुने बक्सिङ संघ प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने छ । थाइल्यान्डको प्रतियोगिता अप्रिल १ देखि १० तारिखसम्म हुने छ ।


