प्रथम बागमती प्रदेश खेलकुद भलिबलमा चितवनलाई दोहोरो उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र ३, बिहीबार १८:४५

प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि चितवनले बिहीबार जितेको छ । चितवन पुरुष÷महिला दुवैमा च्याम्पियन बन्यो ।
बाग्मती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित खेलकुदको पुरुष फाइनलमा चितवनले सिन्धुलीलाई २५–२, २५–२१ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । सिन्धुलीका सरोज हायु उत्कृष्ट खेलाडी घोषित भए । स्पाइकरमा नवीन महतो, सेटरमा मन्जिल गुरुङ, डिफेन्डरमा चिन्तामणि महतो र ब्लकरमा सुमन तामाङ उत्कृष्ट बने । उत्कृष्ट चारै चितवनका हुन् ।
महिलाको उपाधि भिडन्तमा चितवनले रामेछापलाई सीधा सेटमा २५–१३, २५–१८ र २५–११ ले हरायो । चितवनकी आरती सुवेदी उत्कृष्ट खेलाडी बनिन् । स्पाइकरमा रामेछापकी सुनिता गौचन, सेटरमा चितवनकी जोस्ना महतो, डिफेन्डरमा रामेछापकी विमला सुनुवार र ब्लकरमा रामेछापकी प्रेममाया तामाङ उत्कृष्ट ठहरिए ।
विजेतालाई बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चारदिने प्रतियोगिताको पुरुष÷महिलामा समान १२ टिम सहभागी थिए ।
पुरुष फुटबलमा दोलखा र ललितपुर सेमिफाइनलमा पुगे । दोलखाले भक्तपुरलाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि मिलन श्रेष्ठ, धीरज खत्री र रमेश भट्टराईले गोल गरे । सेमिफाइनलमा दोलखाको भेट मकवानपुरसंग हुने छ ।
लतिलपुरले रामेछापलाई टाइब्रेकरमा ४–१ गोलले हरायो । निर्धारित समयको खेल १–१ बराबरीमा सकिएको थियो । सेमिफाइनलमा ललितपुरले धादिङको सामना गर्ने छ ।
पुरुष क्रिकेटमा ललितपुर र काभ्रेले सफलता पाए । ललितपुरले दोलखालाई सुपर ओभरमा पाखा लगायो भने काभ्रेले सिन्धुपाल्चोकलाई ९ विकेटले पन्छायो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु