
७ चैत २०७८ शर्मिला विश्वकर्मा, काठमाडौं
” हाम्रो निर्णय हामी आफै गर्छौ We Decide” भन्ने नारा सहित १७ औ विश्व डाउन सिण्ड्रोम दिवस आज विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको छ ।
यस डाउन सिण्ड्रोम दिवसका अवसरमा डाउन सिण्ड्रोम नेपालले काठमाडौंको कपुरधाराबाट जनचेतना मूलक र्याली निकालेको थियो । सो र्याली चिल्ड्रेन पार्कमा पुगेर शुभकामना मनतव्य सहित डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुले नृत्य प्रस्तुत पश्चात समापन गरियो ।
सो दिवसको अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्ति तथा स्ववकालतकर्ता प्रवेश अर्यालले सबैलाई शुभकामना व्यक्त गर्दै डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा ” महिनावारी र मेरो ज्ञान ” नामक पुस्तक र २०७९ को क्यालेण्डर पनि विमोचन गरियो भने हामी नेपालका अध्यक्ष सबु पौडेलले १० जना डाउन सिण्ड्रोम अपाङ्गता भएका किशोरीहरुलाई पुन: प्रयोग गर्न मिल्ने प्याड वितरण गर्नु भएको थियो ।
विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा.विरेन्द्रराज पोखरेलले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुलाई उनीहरुको रुचि र क्षमता अनुसार व्यवहारिक ज्ञान तथा सीप सिकाउनु पर्ने बताउनु भयो ।
त्यसै गरी काठमाडौं महानगरपालिकाका शिक्षा विभागका शिक्षा प्रमुख रामकृष्ण सुवेदीले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको संस्था डाउन सिण्ड्रोम समाज नेपाललाई आर्थिक तथा अन्य सहयोगका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले मानव शरीरको प्रत्येक कोषमा समान्य व्यक्तिहरुमा भन्दा एउटा क्रोमोजोम बढी हुने अवस्था नै डाउन सिण्ड्रोम हुने भन्दै समान्य मानव शरीरमा ४६ वटा क्रोमोजोम २३ जोडीमा मिलेर बस्ने तर डाउन सिण्ड्रोम अवस्थामा ४७ वटा क्रोमोजोम हुने बताउदै उनीहरुको बौद्धिक क्षमता तथा कार्य गर्ने क्षमता कम हुने बताउनु भयो ।
त्यसैले एउटा बढी क्रोमोजोम २१ औ जोडीमा देखिने भएकोले अन्तराष्ट्रिय स्तरमा नै हरेक बर्ष मार्च २१ तारिकलाई विश्व डाउन सिण्ड्रोम दिवसका रुपमा मनाउने गरिन्छ ।


