
१८ चैत २०७८ शर्मिला विश्वकर्मा, भक्तपुर
पहिचान नेपालले वमेन फाउण्डेशन एसियाको सहकार्यमा अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्य र हक अधिकाको विषयमा यही चैत्र १५ गते देखि १७ गते सम्म ३ दिन भक्तपुरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वरेक नेपालकी प्रशिक्षक इलावती के.सी.ले अपाङ्गता भएका महिलाहरुको लैङ्गीक समानता, प्रजनन् स्वास्थ्य र हक अधिकाको संवोधनका विषयमा प्रस्तुतीकरण गर्नु भयो भने नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन, कानूनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
आयोजक संस्था पहिचान नेपालकी अध्यक्ष ईच्छा के.सी.ले पहिचान नेपालले अहिले सम्म अपाङ्गता भएका महिलाहरुका लागि राहत वितरण, आर्थिक सहयोग, विउपुँजी वितरण, विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताउनु भयो ।
त्यसै गरी कार्यक्रमको दोस्रो दिन अर्थात चैत्र १६ गते अपाङ्गता अधिकारकर्मी महेश्वर घिमिरेले अपाङ्गता भएका महिलाहरुको स्वास्थ्यमा देखिएका चुनौतीहरु, प्रजनन् स्वास्थ्यका सवालहरु र व्यवस्थापनका विषयमा प्रष्ट पार्नु भयो ।
कार्यक्रमका सहभागी रोशनी राइले महिनावारीका समयमा प्रयोग गरिने प्याड निःशुल्क ृपलब्ध हुने पर्ने, अमला महर्जनले शौचालयहरु सफा नहुदा, पानीको व्यवस्थापन नहुदा कठिनाई भोग्न परेको सिता शाहले दृष्टिविहिन महिलाहरुलाई प्याड प्रयोग गर्ने सवालमा तालिम दिनु पर्ने बताउनु भएको थियो ।
त्यसै गरी पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले प्रजनन् स्वास्थ्यका सवालमा स्वास्थ्य निकायहरुबाट विभिन्न सेवा लिन कठिनाई भएको बताउनुका साथै उहाँले यस अन्तरक्रियाको तेस्रो दिन अपाङ्गता भएका महिलाहरुको समानताको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस कार्यक्रममा परिवार नियोजन संघ जडिबुटी शाखामा कार्यरत स्टाफ नर्स सत्य भण्डारीले परिवार नियोजन, सुरक्षित मातृत्वका विषयमा प्रस्तुतीकरण गर्नुका साथै परिवार नियोजनका केही अस्थाई साधनहरुको परिचय गराउदै यसको उपयोगका विषयमा जानकारी गराउनु भयो ।
सो ३ दिने कार्यक्रममा न्यून तथा पूर्ण दृष्टिविहिन र शारीरिक अपाङ्गता भएका ३१ जना अपाङ्गता भएका महिलाहरुको सहभागीता रहेको थियो ।


