
✍️ मनिष पुडासैनी। चैत्र मसान्तको सुर्य अस्ताएर नयाँ उर्जा सहित मुस्कुराउदै झुल्किन्छ नयाँ बर्ष ,
नयाँ बर्ष संगै अधुरै सपनाहरू मात्रै तन्किदै गएका छन् ,
हरेक बर्ष यही समयमा एक पछि अर्को सालहरु फेरिदै जादा ,
हालहरु हिजो जहाको त्यहि छ ,
मित्रहरु, शत्रुहरु फेरिए होलान् ,
मनको व्यथा कहिल्यै फेरिन सकेन ,
नयाँ बर्ष आयो तर नयाँ खोई के आयो ?
मेरो मात्रै होइन ,सबैको व्यथा उहीँ छ ,
श्रमिकहरुले पसिनाको मुल्य पाएको छैनन् ,
चेलिहरु अझै असुरक्षित ठहरिदै गएका छन् ,
अझैपनि हिमाल पारी बस्तिहरुमा बत्तीले संसार देखेको छैनन् ,
गाडिहरुले कयौं बस्तीमा पाईला टेक्न सकेका छैनन् ,
प्रत्येक बिहान अझैपनि गाग्रीहरुले आमाहरुका काख छोडेका छैनन् ,
हामी भन्छौं नयाँ बर्ष आयो तर म भन्छु नयाँ खोई के आयो ?
परिवर्तनका खोक्रा भाषणहरु धेरै सुनिए यहाँ ,
कल्पनामै भए पनि धेरै सपनाहरु बुनिए यहाँ ,
भोकले कयौं जनताको मुहार मलिन छ यहाँ ,
भोका चेहराहरुमा उदास सपनाहरु मात्रै कति बाड्नु हुन्छ ? नेता जि ,
जनताहरुमा साल फेरियो ,हाल तपाईंहरुको मात्रै फेरियो ,
सोच्नुस माननीय ज्युहरु जनताको के हाल छ ?
हरेक नयाँ बर्षहरु आउदै गर्दा ,
मनमा हर्ष हराउँदै गएको छ ,
उमेरका खुड्किलाहरु उक्लदै गर्दा ,
यो मन डराउदै गएको छ ,
खोलि जादा खोलिका बगरहरुको उहीँ हाल छ ,
चौतारीमा भरिया दाईको उहीँ हिजोकै ताल छ ,
देशमा केही गर्न सकिएन भनेर खाडि भासिएका दाईको पनि उहीँ चाल छ ,
देशकै माटोमा सपना देखेर यही केही गर्छु भनेर बसेको मेरो झन् बेहाल छ ,
उमेरका सिडिहरु उक्लदै जादा ,
ओठमा खुसिका धर्काहरु खुम्चिदै गएका छन् ,
हामी भन्छौं नयाँ बर्ष आयो तर म भन्छु नयाँ खोई के आयो ?


