
काठमाडौँ—स्थानीय तह सदस्य निर्वाचन
२०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया
देशभर शुरु भएको छ । तोकिएको उम्मेदवारी
मनोनयन दर्ताको पहिलो दिन आज सबै
पदमा दर्ता भएका उम्मेदवारीको विवरण
अद्यावधिक हुनेक्रम जारी छ ।
आयोगको सूचना प्रणालीमा आज
साँझ ७ः३० बजेसम्म कूल १० हजार ५३३
उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण
प्राप्त भएको छ । सम्बन्धित निर्वाचन
कार्यालयमा दर्ता भएका मनोनयनलाई
प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन
अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी
रहेकाले यकिन तथ्याङ्क प्राप्त भएको छैन ।
निर्वाचन आयोगको सूचना प्रविधि
शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य
गरिरहेको छ । सो शाखाकाअनुसार
प्रणालीमा सङ्कलित विवरणअनुसार
पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल नौ
सय ७३, उपप्रमुख र उपाध्यक्षमा चार सय
९४, वडा अध्यक्षमा दुई हजार आठ सय
२६ को उम्मेदवारी दर्ताको विवरण संकलन
भएको छ । वडा सदस्यमा तीन हजार एक
सय ९०, महिला सदस्यमा एक हजार ९१,
दलित महिला सदस्यमा एक हजार ३० गरी
कूल वडा सदस्यमा १० हजार एक सय
सात दर्ता भएको छ ।
देशभरका ७५३ स्थानीय तहका लागि कुल
३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ ।
आयोगले गत चैत ४ मा स्वीकृत गरेको
निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२
गते दुवै दिन बिहान १०ः०० बजे देखि ५
बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने
समय निर्धारण गरिएको छ । वैशाख १२ गते
मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची
प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको
विरोधमा उजुरी दिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र
जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी
निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको
उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख
१६ गते उम्मेदवारले नाम फिर्ता लिने र
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने
तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन
चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ


