
२५ बैशाख २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
अपाङ्गता भएका व्यक्तिहरुको महासंघ नेपालले UNDP को सहयोगमा काठमाडौं उपत्यकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षाको अभिमुखीकरण र सार्वजनिक नमूना मतदाताको अभ्यास कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं उपत्यका अन्र्तगत यही बैशाख २२ गते भक्तपुर जिल्लामा २३ गते ललितपुर जिल्ला र २४ गते काठमाडौं जिल्लाको जोरपाटी स्थीत नेपाल अपाङ्ग संघको प्राङ्गणमा नमुना मतदान अभ्यास गरिएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो मदाधिकारको प्रयोग गर्दा मत बदर नहोस भन्ने उदेश्यले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा नमूना मतदान अभ्यास र मतदाता शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको आयोजक संस्था अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले बताउनु भयो ।
बैशाख २२ गते भक्तपुर र ललितपसर जिल्लामा गरिएको अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान शिक्षा नमूना मतदान अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोग नेपालका निर्वाचन शिक्षा तथा तालिम शाखा सूचनाका शाखा अधिकृत सुभद्रा शर्मा गौतमले मतदान कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनु भयो ।

त्यसै गरी बैशाख २४ गते काठमाडौं जिल्लाको जोरपाटी स्थीत नेपाल अपाङ्ग संघको प्राङ्गणमा गरिएको नमूना मतदान अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोग नेपालका सूचना अधिकृत तथा सह प्रवक्ता सुर्य प्रसाद अर्यालले मतदानका क्रममा अति असक्त, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिहरुले लाइन बस्न नपर्ने बताउदै मतदान गर्ने तरिकाको विषयमा प्रष्ट पार्नु भएको थियो ।
भक्तपुर जिल्लामा गरिएको नमूना मतदानमा ६८ मत खसेकोमा १२ मत, ललितपुर जिल्लामा १११ मत खसेकोमा ३७ मत र काठमाडौंमा ५८ मत खसेकोमा १५ मत बदर भएको थियो ।
उक्त कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरु निर्मला धिताल, रमा ढकाल, कमला बुढाथोकी, मिना पौडेल र जगदिश प्रसाद अधिकारीले मतदाता शिक्षाको विषयमा तालिम प्रदान गर्दै सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।
सो कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका साथै सर्वसाधारण व्यक्तिहरुले सहभागिता जनाएका थिए ।


