आत्माको पुकार( कविता)
(मुक्त छन्द)
जिन्दगीको गोरेटोमा एक्लै हिडे कति
काँध चढी अघि लागे टाठाबाठा जति
मासी गले पिडौलाका एक्लै ढलेको छु
टोक्ने भए टोक अझै म त जलेको छु।
थाप्लो माथी तिम्रो गोडा थाप्दा तालु नाङ्गो
ऐया दुख्यो भनेंँ जब तिम्रो मुख बाङ्गो
ऐसेलुको काँडा झेल्दै फल तिम्लाइ दिएंँ
म सक्दिन आफै टिप भन्दा दोषी भएँ।
मासु छैन हाडछाला मात्रै बाकी भयो
भन्दै पर सर्यौ आज हाड पापी लाग्यो
मसानमा फ्याकिएको ज्यूँदो लास ठान्यौ
बितृष्णाको रोष पोख्न यहि लास छन्यौ।
फर्की हेर बितेका ती उखरमाउला यात्रा
परेलीका जल छम्की बनाएथेंँ जात्रा
सुकेका छन् नशाहरू रगत छैन रत्ती
अझै भारी नबोकेको झेल ठान्छौ कति?
भित्री मन उस्तै उस्तै माया फक्रेको छ
बाहिरी छाला तुषारोले गर्दा कक्रेको छ
लैनो छदा दूध आउथ्यो बेत बसेको छु
बिके बेच हाडछाला खोँचमा फसेको छु।
शम्भु गजुरेल अज्ञानी
नुवाकोट