
६ जेष्ठ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौँ द लेप्रोसी मिसन नेपालले सन् २०१९ डिसेम्बर देखि फाउन्ड परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको लागि काम गर्दै आएको छ। यसै सन्दर्भमा उक्त सस्थाले हिजो जेष्ठ ५ गते काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको उपस्थितिमा उनीहरूको रोजगारको सवालमा छलफल कार्यक्रम गर्यो।
सो छलफलमा संस्थाका क्लस्टर मेनेजर शिव कुमार प्रधानले फाउन्ड परियोजना मार्फत अपाङ्गताको क्षमता, योग्ता र शीपको पहिचान गरी आवश्यकता अनुसार रोजगार उपलब्ध गराउने बताउनु भयो। साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको रोजगारका लागि नेपाल उधोग बाणिज्य संघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग सहकार्य गरी रोजगारको सवालमा छलफल गरी काम गर्दै आएको बताउनु भयो।
त्यसैगरी फाउन्ड परियोजना निर्देशक चिरञ्जिवी शर्माले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, योग्यता र शीपको आधारमा अपाङ्गता अनुकूलको वातावरणमा रोजगारीमा सहभागी गराउने बताउदै अपाङ्गतालाई कमजोरी भन्दा पनि साहास र अवसरको रूपमा लिनु पर्ने कुरामा जोड दिनु भयो।
कार्यक्रमा सहभागी अपाङ्गता भएका व्यक्तिहरू मध्ये अल्प दृष्टियुक्त महिला सुप्रभा अर्यालले रोजगारी उपलब्ध गराउने क्रममा अपाङ्गताको आधारमा नभएर उनीहरूको क्षमता, योग्यता र शीपको सम्मान गर्दै रोजगारीको अवसर उपलब्ध गराउनु पर्ने बताउनु भयो।
यसै क्रममा द लेप्रोसी मिसन नेपालका फाउन्डका रोजगार परामर्शकर्ता तारानाथ सिग्देलले यस संस्थाले अहिलेसम्म १०० जना अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न निकायहरूमा रोजगार उपलब्ध गराई सकेको ८८ जनालाई बीउपूँजी बितरण गरेको बताउनु भयो।
यसैगरी उक्त परियोजनाका व्यवसाय विकास अधिकृत रोजी बुढाथोकीले कुनैपनि रोजगारीमा सहभागी हुन जोकोहीँमा पनि सीप हुन पर्ने, अपाङ्गतालाई कमजोरीको रूपमा हेर्न नहुने भन्दै अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार उपलब्ध गराउनको लागि संस्थाले आगामी दिनमा पनि बिभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरामा जोड दिनु भयो।


