• पारा तेक्वान्दो टोली युएइ जाने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार २०:२६

    पारा तेक्वान्दो टोली युएइ जाने
    चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् ।
    जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । रञ्जनाले विश्व च्याम्पियनसिपसहित विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा कांस्य जितेकी छन् ।
    टोली प्रमुखमा रामचन्द्र श्रेष्ठ र प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् । पारा ओलम्पियन पलेशा गोबर्दन र सिर्जना घिसिङ विश्व वरीयताका आधारमा यसअघि नै पारा एसियाली खेलकुदका लागि छनोट भइसकेको प्रशिक्षक लामाले जानकारी दिए ।
    टोलीलाई सोमबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरियो । सो अवसरमा पैंक बाइकले प्रायोजन गरेको ट्रयाकसुट प्रदान गरिएको थियो । पैंक बाइकका प्रोप्राइटर टिरेक मानन्धरले टोलीलाई ट्रयाक सुट हस्तान्तरण गरे । पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र अमिर ब्लोनलाई पनि ट्रयाक सुट प्रदान गरिएको थियो । यसअघि पैंक बाइकले ४ पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा आते–जाते गर्न सहज होस् भनी साइकल पनि सहयोग गरेको थियो । त्यस्तै केहि खेलाडीलाई आफ्नो संस्थामा रोजगारी पनि दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु