• पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न उपाध्यक्ष पवन कार्की समुहको माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १८:२७

    काठमाडौं, ७ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ ।
    संगठनभित्रको विवादबारे स्पष्ट पार्न रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो ।
    कार्की समुहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो । उनीहरुले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटीको सदस्यहरुसँग पनि आफुहरुको माग पुर्याइसकेको जानकारी दिएका हुन् ।
    संगठनका केन्द्रीय उपाध्यक्ष पवन कार्कीले सोचेको जति विद्यार्थी आन्दोलनले आजसम्म उपलब्धी हासिल गर्न नसकेको स्वीकार गर्दै विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल (क्रान्तिकारी) आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको गुनासो पोखेका छन् ।
    जनता बाँच्न नसक्नेगरि बढेको महंगी र मुल्यवृद्धिका विषय उठान गर्नुपर्ने संगठन नै आज अराजक गतिविधिमा रुमलिएको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने बताए । लामो समयदेखि आफ्नो संगठनमा समस्या आइरहेको भन्दै आज अध्यक्ष पञ्चा सिंहको कारण झन् अप्ठ्यारोमा परेको सुनाए ।
    २२औं राष्ट्रिय सम्मेलन गत वर्ष असोज १४ देखि १८ सम्म बबलरमहलमा सम्पन्न भएको जानकारी दिँदै उक्त सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबरजस्ती निर्वाचित गरेको स्मरण गराए । उनले संगठनभित्र समस्याको सुरुवात २२औं सम्मेलनबाट भएको र तेस्रो विस्तारित बैठकबाट भने सबै विवाद र लफडा छताछुल्ल भएकोे बताए ।
    संगठनको २२औं सम्मेलनले एउटा अध्यक्ष निर्वाचित गरेर कुनै पदाधिकारी तोक्न नसकेकोमा आक्रोस पोख्दै उनले त्यतिबेला जबरजस्ती विधानविपरित कमिटी घोषणा गरेको बताए । उनले भने,‘त्यतिबेला जबरजस्ती विधानविपरित कमिटी घोषणा गरियो, हलका प्रतिनिधीहरुले विरोध गरे र संगठनको विधान लागु गर्न आग्रह गरे ।’
    महाधिवेशन प्रतिनिधिहरुले आफुहरुबाटै नेतृत्व चयन गर्ने अवसर प्रदान गर्न माग गर्दा उनीहरुको आवाज नै नसुनिएको उनको गुनासो छ ।
    पछि अध्यक्ष सिंहले अवैधानिक रुपमा सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय कमिटी घोषणा गरेको उनले आरोप लगाए । ‘पञ्चा सिंहले अवैधानिक रुपमा सामाजिक सञ्जाल फेसबुक मार्फत केन्द्रीय कमिटी घोषणा गर्नुभो, कुनै विधि, मापदण्डअनुसार होइन्, फेसबुकमार्फत केन्द्रीय कमिटी सार्वजनिक गर्नुभो । हिजोका आयोजक समितिलाई ल्याउने राख्ने र नयाँ साथीहरुलाई अपडेट गर्ने कुनै मापदण्ड बनाइएन र उहाँसँग नजिक भएकाहरुलाई केन्द्रीय कमिटिमा पार्नुभयो, नभएका साथीहरुलाई छुटाउनु भयो, हटाउनुभयो, त्यतिबेला नै हामीले अवैधानिक छ भनेका थियौं ।’
    केन्द्रीय सदस्य बालकुमार केसीले संगठनले आयोजना गरेको २२औं राष्ट्रिय सम्मेलनको क्रममा बन्दसत्रको क्रममा समस्याको सुरुवात भएको विषयको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरिएको स्पष्ट पारेका छन् ।
    अध्यक्ष सिंहले ३० वर्षदेखि लागेका विद्यार्थी नेताहरुलाई संगठनका नेतृत्वमा बर्जित गरेर तानाशाही व्यवहार देखाएको केसीको आरोप छ ।
    संगठनका पदाधिकारीहरुले राखेका जायज माग सम्बोधन नगरेर अध्यक्ष सिंहले उल्टै कारबाही गरेकोमा पनि उनले आक्रोस पोखे । उनले अध्यक्ष सिंहको नेतृत्वको टोलीले हल खाली गरेर साथीहरु पिटाएको र संगठनलाई अराजक गुण्डागर्दी शैलीमा लगेको आरोप लगाए ।
    ‘२१औं राष्ट्रिय सम्मेलनमा हितमान शाक्यको नेतृत्वमा निर्वाचनमार्फत चयन भएका कमिटीलाई पाखा लगाउँदै २२औं राष्ट्रिय सम्मेलनमा टिका लगाउने काम गरियो । यसबारेमा हलमा विरोध पनि भयो ।’ उनले भने,‘यद्यपी पार्टीले नै पार्टीले नै चुनाव नगरेर मनोनित गरेपछि हामी मान्न तयार भयौं । तर, उपाध्यक्ष, महासचिव, सचिव विधानतः १९९ कमिटि २५ पदाधिकारी हुनुपर्छ भनेर हामीले अडान लिएका थियौं ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु