• देउडा गितमा जम्दै कलाकार जोशी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:५९

    काठमाडौं । कैलाली धनगढीका दिपक जोशी कलाकारिताका सबै विधामा जमेका चर्चित व्यक्ति हुन् । उनले गायन र कलाकारिताको यात्रालाई आफ्नो प्रमुख कर्म बनाएका छन् ।
    ४० भन्दा बढी म्युजिक भिडियो खेलिसकेका उनले लोक, आधुनिक, देउडाका साथै सबै प्रकारका गितले दर्शक तथा श्रोताको मन जितेका छन् ।

    शिव श्रेष्ठसँग ‘लप्पन छप्पन’ मा मोडलको भूमिकामा रहेका उनले १७ वर्षदेखि यो क्षेत्रमा आफ्नो सक्रियता बढाएका छन् । ‘काछै मेरी मैना चरी’ उनले २०६२ मा गाएको गित हो । लोक गितबाट मात्र सम्भावना नहोला कि भनेर उनले अनेक भाकाका गित गाउन थालेका छन् । उनले तिज गितमा समेत राम्रो प्रस्तुति दिएका छन् । ‘टाक्कटुक्क मिलाइदेउ’ बोलको आधुनिक गित उनले मेलिना राइसँग गाएका छन् । ‘तिमी मेरो साथी’ उनको अर्को गित हो । संगितकार, मोडल, गायक, थ्रिएटर आर्टिस्ट, संगित प्रशिक्षकसमेत रहेका उनी संगित र अभिनय सिकाउने क्रममा विभिन्न ठाउँमा पुगेका छन् ।


    थुप्रै टेलिश्रृंखलामा अभिनय गरेका उनले ‘मिसन’ फिल्म पनि खेलेका छन् । तिलक फिल्म्स प्रालिका प्रबन्ध निर्देशक उनी सुदूरपश्चिम कलाकार संघका उपाध्यक्ष, राष्ट्रिय संगितकार संघका केन्द्रीय सदस्य पनि हुन् । कलाकारको प्रतिभालाई राष्ट्रले सम्मान गर्नुपर्ने उनको भनाई छ । कलाकारले मनोरञ्जनसँगै समाजलाई सामाजिक कार्यमा लाग्न प्रेरणा पनि दिएको बताउने उनी जुनसुकै ठाउँमा जस्तो अभिनय गर्न पनि सक्छन् । विभिन्न सांस्कृतिक महोत्सवमा गएर उनले दिएको प्रस्तुतिले स्टेज तताएकोमा उनी प्रशन्न छन् । २०७५ मा भएको सुदूरपश्चिम आइडलमा उनी मुख्य निर्णायक थिए त्यसअघि भएको प्रतियोगितामा उनी त्यहीँ निर्णायकमात्र थिए । उनले पुराना र स्थापित कलाकारसँग पनि आफ्नो अभिनय पस्केका छन् ।


    ‘मलाई ज्वाई बन्न देउ तिम्रो आमाको’ उनको अर्को लोकदोहोरी हो । उनले दर्शकको माया पाइरहेको जनाएका छन् । ‘दर्शक र श्रोताले मन पराइदिएकाले नै अहिले म यहाँसम्म आएको छु’ उनले भने ‘भोलिको दिनमा पनि अझै राम्रो सम्भावना खोज्दै यही कर्मलाई नै निरन्तरता दिन्छु ।’ उनले विगतका दिनमा गरेको दुःखलाई पनि अहिले सम्झिएका छन् । ‘दुःख त कति गरें त्यसको बेग्लै कथा बन्छ, कुनै दिन त्यो कर्मको पनि सम्मान होला भन्ने लाग्छ’ उनले भने ‘दोहोरीमा राती गित गाएको अझै पनि झलझली आउँछ, अरु धेरै दुःख छन् सबै भनेर पनि साध्य छैन ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु