
काठमाडौं । निजी डेरीको छाता संगठन नेपाल डेरी एसोसिएसनको ८ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा निर्वाचित प्रल्हाद दाहालले एसोसिएसनका अग्रज एवं संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना हुँदै आफूले सधैं अग्रजहरुको सम्मान गर्दै वहाँहरुको सल्लाह लिँदै काम गर्ने प्रतिबद्धता जनाए ।
बैठकबाट राष्ट्रिय दुग्ध विकास बोर्डबाट प्रदान गर्दै आएको दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने लोगो लगाउन एसोसिएसनले आफ्ना देशै भरिका सदस्यहरुलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।
एसोसिएसनको बैठकले आफ्ना सदस्यहरुको हितका लागि विपत व्यवस्थापन राहत कोष खडा गरेको छ । नेपाल डेरी एसोसिएसनको कार्यालयमा बसेको केन्द्रिय समितिको बैठक नेपाल डेरी एसोसिएसनमा आबद्ध सदस्यहरुलाई भैपरी आउने विपदमा सहयोग गर्न कोष खडा गरिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।
केन्द्रिय समितिको बैठकले उक्त विपत व्यवस्थापन कोषका लागि छुट्टै विभाग समेत गठन गरेको छ । सोही दिन उक्त कोषमा रु तीन लाख रुपैँया जम्मा भएको अध्यक्ष दाहालले बताए ।
बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती गठन गरेको महासचिव हेमचन्द्र खनालले जानकारी दिए । बैठकले कार्य विभाजन अन्तर विभिन्न ८ वटा विभाग गठन गरेको छ भने प्राविधिक एवं विशेष योजनाका लागि एक विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले ३ वर्षे कार्यकालको लागि कार्ययोजना तयार गरेको छ । एसोसिएसनले गर्ने हरेक बैठकमा आचार संहिता लागु गरि कार्यनयन गर्ने, आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गर्ने, डेरी सम्बन्धि जानकारीका लागि वार्षिक रुपमा डेरी दर्पण र ६/६ महिनामा डेरी बुलेटिन प्रकाशित गर्ने लगायतका निर्णय गरेको अध्यक्ष दाहालले बताए ।


