• एनआरएन एसिया प्याशिफिक क्षेत्रीय सम्मेलन अगस्ट २६ देखि २८ सम्म बैंककमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार ०८:०६

    ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने, निवर्तमान प्रमुख संरक्षक घले पनि उपस्थित हुने आरसी पोखरेलको दावी

    काठमाडौं –गैरआवासीय नेपाली संघ एनआरएनए एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तीव्र पारिएको छ । अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले एक पत्रकार सम्मेलन गरेर जनाएका छन । संघको तर्फबाट एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसिया प्याशिफिक क्षेत्रीय संयोजक पारसमणि पोखरेल र डिपी कंडेललेले कार्यक्रमको तयारीका बारेमा जानकारी गराएका थिए ।
    क्षेत्रीय संयोजक डिपी कंडेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिदै कार्यक्रममा उपस्थित हुन बिश्वमा रहेका गैर आवासीय नेपालीलाई अनुरोध गरे । कार्यक्रममा सहभागीले नाम दर्ता गर्दा २ सय डलर तिर्नु पर्ने आयोजक क्षेत्रीय संयोजक पोखरेलले बताए । उक्त रकमबाट ब्रेकफास्ट, लन्च, डिनर र क्रूजको व्यवस्था हुने उनले बताए । होटलको सहभागी आफैले तिर्नूपर्छ उनले भने । मिलाप नाम दिइएको सम्मेलनमा महिला, युवा लगायत संघका क्षेत्रीय तथा अन्तराष्ट्रिय छलफल हुने पोखरेलले बताए । ‘नेपाली माटोसँग कसरी जोड्ने भन्ने योजना छ पोखरेलले भने सम्मेलनले दोस्रो पुस्ता नेपालमा जोड्न सघाउ पुग्ने छ ।

    नेपाली उत्पादन बजारीकरण गर्न पनि सम्मेलनले सघाउ पुग्ने र बजार प्रवद्र्धनका लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने उनले बताए । क्षेत्रीय संयोजक पोखरेलले उक्त कार्यक्रमको नाम नै मिलाप राखिएकाले हाल एनआरएनएमा देखिएको विवाद उक्त सम्मेलनपछि अन्त्य हुने दावी गरे । उनले कार्यक्रममा संघका पुर्व अध्यक्ष एबं निबर्तमान प्रमुख संरक्षक शेष घलेलाई आफैले निम्ता गरेको, एनआरएनएका बर्तमान अध्यक्षहरु र सबै अभियन्ताहरुलाई बोलाएकाले सबैको जमघट हुने र त्यहीको कार्यक्रमबाट मिलाप भएर सबै फर्कने समेत दावी गरे । पोखरेलले संस्था एकता भएमात्रै उक्त मिलाप कार्यक्रम सफल हुने बताए ।
    पत्रकार सम्मेलनमा बोल्दै संघका कार्यकारी अध्यक्ष कुल आचार्यले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएकोमा खुसी व्यक्त गरे । उनले गैर आवासीय नेपालीलाई राज्यले सम्मान गरेकोमा सरकारलाई धन्यवाद ब्यक्त गरे । आचार्यले संघको १० औं महाधिवेशन पछि आयोजना हुन लागेको एशिया प्याशिफिक क्षेत्रीय सम्मेलन महत्वपूर्ण हुने बताए । उक्त कार्यक्रममा अध्यक्ष डा बद्री केसीले कार्यक्रमको नतिजा राम्रो निकाल्ने गरी सम्पन्न गर्न सुझाव दिए । उनले संघभित्रको एकतालाई अझै रचनात्मक बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका कुरामा जोड्न आवश्यक काम गरिरहेको उनले बताए ।
    संघकी अध्यक्ष रविना थापाले क्षेत्रीय सम्मेलनको सफलताको शुभकामना दिदै सम्मेलनको लागि आवश्य सहयोग गर्न आफु तयार रहेको प्रतिबद्धता जनाइन् । एसिया प्यासिफिक सम्मेलनमा श्रममन्त्री शेर बहादुर कुँवर, नेपाली कांग्रेसका महामंत्री गगन थापा,एमाले सांसद सुर्य पाठक,व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु, पूर्व अध्यक्ष, नेपाल सरकारका उच्चअधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनको संचालन एसिया प्यासिफिक क्षेत्रीय सचिव प्रदिप न्यौपानेले गरेका थिए भने एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले सम्मेलनको तयारीको बारेमा आफ्ना भनाईहरु राखेका थिए । बस्नेतले यो सम्मेलन अहिलेसम्मका सम्मेलनहरुमध्य उत्कृस्ट हुने दावी गरे । उनले कार्यक्रमको तयारी तीब्र गतिमा भएको बताए । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष हेम राज शर्मा,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यासमिन बेगम, सचिव डा खगेन्द्र न्यौपाने, मध्यपुर्व संयोजक मनोज गोर्खाली,क्षेत्रीय उपसंयोजकहरु दधिवाल खडका,हरी भट्टराई लगायतको उपस्थिती थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु