डेमोक्रेटिक सोसलिस्ट एलाएन्सको साझा अवधारणा सार्वजनिक, एउटै चिन्हमा ११ दल चुनावमा जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १५ गते, आईतवार २०:०५

काठमाडौं, १५ साउन । डेमोक्रयाटिक सोसलिस्ट एलाएन्स (डिएसए)ले विधान र साझा अवधारणा सार्वजनिक गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आजको आवश्यकता राजनीतिक दलहरुबीच एकता, सहकार्य र संयुक्त मोर्चा विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गर्दै विधान र साझा अवधारणा सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एलायन्सका प्रवक्ता राजु कार्कीले एलायन्सको गत साउन ९ गतेदेखि ११ गतेसम्म भएको छलफलले एक किसिमको छलाङ मारेको बताए । उनले साना एक दर्जन पार्टीहरु चुनाव चिन्ह ‘गितार’ लिएर निर्वाचनमा जान तयार भएको जिकिर गरे ।
उनले भने,‘ठुला राजनीतिक दलहरु पनि चुनावमा एक्लै जाने स्थितिमा छैनन् । हामीहरुले पनि संयुक्तरुपमा जाने निर्णय गरेका छौं । यति धेरै पार्टी एउटै चुनाव चिन्ह लिएर जाने निर्णय गर्नु चानचुने होइन् ।’ उनले अझै सकेसम्म पार्टी एकता गर्न खोजेको त्यो अहिलेनै सम्भव नभएपछि एउटै चिन्ह लिएर चुनावमा जान तयार भएको स्पष्ट पारे ।
अब देश समृद्ध बनाउन नयाँ पुस्ताका युवा नेताहरुको उदय हुनुपर्ने उनको भनाई थियो । बैठकले सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने र स्थानीय तहमा भएका पार्टीसँग छलफल गर्ने योजना आफुहरुको रहेको स्पष्ट पारे ।
उनले भने,‘सबै प्रदेशका १०० जना प्रतिनिधीहरुलाई काठमाडौंको प्रज्ञा भवनमा २ हजार प्रतिनिधिहरुसहितको भेला गर्नेर्छौं ।’
यसैगरी, नेपाल लोकतान्त्रिक पार्टीका उप–महासचिव शिवहाङ तुम्बाहम्फेले आफ्नो पार्टी बहुलबादमा आधारित भएको बताए । पार्टीले वंश र राजसंस्थालाई नबोकेको स्पष्ट पार्दै संघीय प्रणालीलाई स्वीकार गर्ने बताए । उनले आफ्नो पार्टी समता समाजवादी अर्थनीतिलाई टेकेर अघि बढेको दाबी गरे । उनले आगामी चुनावमा थुप्रै स–साना पार्टी मिलेर जाँदा विजयी हुने विश्वास दिलाए ।
त्यस्तै, उन्नत लोकतन्त्र नेपाल पार्टीका अध्यक्ष स्वागत नेपालले देश अप्राकृतिक रुपले धेरै मिल्नेहरुको कारण बिग्रीएको दाबी गरे । उनले भने,‘यो देश धेरै मिलीजुलीका सरकार बनेको कारण बिग्रिएको हो । टाउको लिएर आउ झोलामा पैसा लिएर जाउ र टाउको गिड्दै हिड्नेहरु अहिले मिलिरहेको अवस्था छ । देशको अवस्था प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अप्राकृतिक गठबन्धनले बिग्रिएको हो । यो सम्बन्ध लामो बनाउँदा देशलाई घाटा पर्छ ।’

नेपालले नेतालाई मन नपर्ने तर जनतालाई मन पर्ने विचार लिएर आफ्नो पार्टी अघि बढेको स्पष्ट पारे । जनताले नेतालाई बहिस्कार गर्ने मन नपर्ने तर जनतालाई बहिस्कारको अधिकार राइट–टु–रिजेक्ट चाहिएको उनले टिप्पणी गरे । उनले आफ्नो पार्टीले १२ वर्षदेखि जनतालाई मन पर्ने र नेतालाई मन नपर्ने विचार बोेकेर हिडीरहेको उनले दाबी समेत गरे । उनले एमसीसी, एसपीपी र राष्ट्रघातका विरुद्ध उभिनेहरुबीच एकताको आवश्यकता रहेको औंल्याए ।
उनले भने,‘उन्नत लोकतन्त्र पार्टी स्वतन्त्र अभियान, नेपाल आमा पार्टी, सचेत नेपाली पार्टी, सुशासन पार्टी लगायत १ दर्जन जति स्वतन्त्र समुह र पार्टीहरुले साझा उम्मेदवार, विचार, चुनाव चिन्ह र साझा कार्यक्रमको साथ अघि बढ्नुपर्छ भनेर निष्कर्ष निकालेका छौं ।’
नागरिक, सार्वभौम सत्ता र राष्ट्रियतालाई केन्द्रमा राखेर एलायन्सले यस्तो निर्णय गरेको उनले थप स्पष्ट पारे । नेपालले अब बिहीबार युनियन हाउसमा १ बजे बोलाइएको भेलामा सबै पार्टीलाई उपस्थित हुन र एक्यवद्धता जनाउन आग्रह गरे ।
आगामी चुनाव चिन्ह के गर्ने भनेर बिहीबार छलफल गरिने उनको भनाई थियो ।
पुराना नेताहरुलाई गाली गर्न नुहने उनको भनाई थियो । उनले भने,‘पुराना नेताहरु अब आराम गरेर घरमा बस्नुपर्छ र उहाँहरुबाट देश बन्ने सम्भावना छैन् ।’

सचेत नेपाली पार्टीका संयोजक पुण्यप्रसाद प्रसाईले वैकल्पिक शक्तिको नाममा आफुलाई केन्द्रमा राख्ने व्यक्ति र अर्को स्वतन्त्र उम्मेदवार भनेर गलत किसिमले व्याख्या गरिएको भन्दै आपक्ति जनाए ।
साच्चै नै देश बनाउन चाहाने हो भने सम्पुर्ण वैकल्पिक शक्तिहरु एक हुनु पर्ने उनको भनाई थियो । राजनीतिमा सदाचारको आवश्यकता पर्ने भन्दै उनले राजनीतिज्ञ सदाचारी हुनुपर्ने उनको भनाई थियो । देशको राजनीति नेताहरुले आफुलाई केन्द्रमा राखेकैले बिग्रिएको उनको टिप्पणी थियो । आगामी दिनमा हुने भेलाले चुनाव चिन्ह छनौट गर्ने पनि उनले बताए ।
जनताको बहुमतले मात्र देशमा परिवर्तन सम्भव हुनेमा उनले जोड दिए । उनले भने,‘देशमा आमुल परिवर्तनको लागि सर्वपहिचानवादको नीति ल्याउनुपर्छ । चाकडीले देश बन्दैन्, देश बनाउन चाकडीप्रथाको अन्त्य हुनुपर्छ ।’
यो देशको सार्वभौमसत्ता, अखण्डता फालिने भन्दै उनले देश जोगाउन सबै मिल्नुपर्ने बताए ।
यसैगरी, पुर्व संविधान सभा सदस्य रिजमान अन्सारीले वर्तमान राजनीतिक नेतृत्वले जनताको आकांक्षा अनुसार पुरा गर्न नसकेर असफल भएको जिकिर गरे।
उनले भने,‘वर्तमान सरकारले जनताको आकांक्षा पुरा गर्न सकेको छैन् । नेपाली जनताले वर्तमान नेतृत्व र बहुदलिय व्यवस्थाको विकल्प चाहेका छन् ।’
लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको पनि उनले स्पष्ट पार्दै उनले भने,‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र र गणतन्त्रको विकल्प समावेशी लोकतान्त्रिक गणतन्त्र जस्तो नेपाली जनताले चाहेका छन् । अब हामीले त्यस्तै बनाउनु पर्छ ।’ देशमा अब राजतन्त्र नफर्कने दाबी गर्दै अन्सारीले देश फर्केर पुनः उत्थानमा जान नसक्ने स्पष्ट पारे । कुनै न कुनै रुपले फेरी राजा ल्याउने षड्यन्त्र भइरहेको भन्दै उनले राजा ल्याउने सपना दिवासपना मात्र भएको टिप्पणी गरे ।

यसैगरी, नेपाल सुशासन पार्टीका महासचिव गोबिन्द गिरीले पार्टी एकिकरण, एउटै चुनाव चिन्हबाट चुनाव लड्ने, गठबन्धन गर्ने र आफ्नै सुरले हिड्ने चार विकल्पको बारेमा बारे गत भेलामा छलफल भएको बताए । उनले भने,‘विचार मिलेमा पार्टी एउटै बनाएर जाने अहिल्यै सम्भावना नभएपछि दोस्रो विकल्पमा गएका छौं । ११ दलले गीतार चुनाव चिन्ह रोजिसकिएको छ, अझै कोही आएमा आगामी साउन १९ गते चुनाव चिन्हमा सहकार्य गर्न सकिन्छ ।’
उस्तै आदर्श, लक्ष्य र विचार भएका पार्टीसँग सहकार्य गर्न खोजेको समेत उनले बताए । लक्ष्य मिल्नेसँग चुनावमा गए भविष्यमा पार्टी पनि एकता हुने सम्भावना हुने उनको भनाई थियो ।
त्यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तोप अछामीले धेरै पाटीबिच एलायन्स हुनु अति नै राम्रो भएको तर उद्देश्य भने स्पष्ट पार्नुपर्ने बताए ।
उनले जनताले चुनेर पठाएका प्रतिनिधिहरुले सदनमा गाईजात्रा देखाइरहेको टिप्पणी गरे ।
विवेकशिल साझा पार्टीका प्रवक्ता विजय सिवाकोटीले स–साना पार्टीहरुबीच चुनावमा एउटै चिन्ह लिएर जाने निर्णय गरेर राम्रो गरेको बताए ।

कार्यक्रमको समापन गर्दै एलायन्सका अध्यक्ष सिबी गहतराजले आगामी दिनमा सबै पार्टी मिलेर वैकल्पिक शक्तिको रुपमा मात्र नभएर निर्विकल्प शक्तिको रुपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘ आगामी दिनमा सबै पार्टी मिलेर वैकल्पिक शक्तिको रुपमा मात्र नभएर निर्विकल्प शक्तिको रुपमा अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । एकता वा मोर्चा बनाएर जाने हो, त्यसमा विचार पुर्याएर अघि बढ्नुपर्छ ।’
सबै पार्टीलाई एलायन्समा आवद्ध भएर मिलेर जान समेत उनले आग्रह गरे ।
कार्यक्रमको सञ्चालन एलायन्सका महासचिव मानबहादुर तामाङले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु