
काठमाडौं, १० भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नम्बर १ बाट महेन्द्रसिंह ठकुरीले उम्मेदवारी घोषणा गरेका छन् ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ठकुरीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने जानकारी गराए ।
उनले आफ्नो क्षेत्रको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने,‘हामीले जिताएर पठाएका जनप्रतिनिधिहरुले बारम्बार जनतालाई उपेक्षा गरिरहे त्यसको विरुद्ध मेरो उम्मेदवारी हो ।’
सो क्षेत्रबाट जनताले छनौट गरेर पठाएका जनप्रतिनिधिहरुले उनीहरुको हितमा काम नगरेको उनले आरोप लगाए । प्रतिनिधिमात्रै नभई मन्त्रीहरुले पनि त्यहाँका जनताको सामान्य आवश्यकता पनि पुरा नगरेको भन्दै उनले तीनै आवश्यकता र सपना पुरा गर्न आफु राजनीतिमा होमिएको बताए ।
कवड्डी खेलाडी समेत रहेका ठकुरीले बर्दघाट–सुस्तापश्चिमका जनताले सिंचाई, मल, लागुपदार्थ दुव्र्यसनीका विषयहरु, भूमिहिनका कुुरा, उखु किसानका पीडालगायतका दुःख भोग्दै आएको उल्लेख गरे ।
अब देशको विकासको लागि स्वतन्त्र युवाहरुलाई जनताले मत दिनुपर्ने उनको भनाई थियो । उनले युवा उम्मेदवारहरुलाई पत्रकारले बारम्बार समय दिएर अन्तक्रिया गरेर आफ्नो कुरा राख्ने अवसर दिनपनि आग्रह गरे ।
उनले २०४६ पछिका सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्ति खोजेर सार्वजनिक गर्ने र गल्ती गरेको प्रमाणित भएमा कडा कारबाहीको भागीदार बनाउने आफ्नो लक्ष्य रहेको सुनाए । उनले भने,‘आवश्यक परे संविधान संशोधन गरेर भएपनि काम कारबाही अघि बढाउने छौं ।’ उनले आफुलाई एकपटक संसदमा पुर्याउन मतदातालाई आग्रह गर्दै जकडिएको कानुनी जालो तोडेर कठोर कानुन बनाउने प्रतिवद्धता गरे । आफन्तको आधारमा नभई दक्षताको आधारमा मात्र नियुक्ति गर्नुपर्ने व्यवस्था लागु गर्नुपर्नेमा उनले जोड दिए ।


