
काठमाडौँ, २३ भदौ । काठमाडौँको सामाखुशीमा सञ्चालित रेडन कलेजले विद्यार्थीलाई लागूऔषध र विद्युतीय अपराधसम्बन्धी प्रशिक्षण दिएको छ ।
रेडन एजुकेशन फाउण्डेशन सामाखुशीले बुधबार आयोजना गरेको ‘विद्युतीय अपराध र लागूऔषध’ सम्बन्धी जनचेतनामुलक कार्यक्रममा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बढ्दो प्रविधिको प्रयोगसँगै विद्युतीय अपराध र लागूऔषधका घटनामा वृद्धि भएको बताउनुभयो ।
उहाँले काठमाडौँ प्रहरीमा आर्थिक वर्ष २०७८÷०७९ मा लागूऔषध सम्बन्धी ३३९ मुद्दा परेको जानकारी दिनुभयो । यस्तै, सोही आवमा काठमाडौँ प्रहरीले लागूऔषध कारोबारमा सङ्लग्न ४९२ जनालाई पक्राउ गरेको छ भने सातजना फरार रहेका छन् । काठमाडौँ प्रहरीले साइबर अपराधमा भने सात जनालाई पक्राउ गरी मुद्दा चलाएको प्रवक्ता मैनालीले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र ठमेलका अध्यक्ष रामबहादुर (रम्बा) रजकले लागूऔषध र विद्युतीय अपराध पछिल्लो समय बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि सामुदायिक सेवा केन्द्रले प्रहरीसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
रेडन एजुकेशन फाउण्डेशनका सञ्चालक हिमलाल घिमिरेले विद्युतीय अपराध र लागूऔषध सेवन नियन्त्रणका लागि विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रेडन कलेजका एकेडेमीक डिरेक्टर सुनोज कैनी, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी निरीक्षक एवम् समुदाय प्रहरी साझेदारी शाखा प्रमुख सरला गिरी, प्रहरी वृत्त लैनचौरका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतलगायतको उपस्थिती रहेको थियो ।
सोही अवसरमा रेडन कलेजमा कक्षा ११ र १२ मा पढ्ने १६० विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।


