
काठमाडौँ, ३० कात्तिक । नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँलाई बस्न योग्य शहर बनाउने बताउनुभएको छ ।
संयुक्त ट्रेड युनियन तारकेश्वर नगर कार्यसमितिले आज साँझ यहाँ आयोजना गरेको ‘निर्वाचनमा पेशागत तथा ट्रेड युनियनकर्मीको भूमिका’ विषयक कार्यक्रममा उहाँले काठमाडौँलाई बस्न योग्य शहर बनाउने बताउनुभएको हो ।
“काठमाडौँ देशको राजधानी हो, यहाँ सबै जिल्लाका मानिसहरु बस्न आउँछन्, यस क्षेत्रलाई नमूना शहर बनाउने जिम्मा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधीको हो, म निर्वाचनमा विजयी भएमा काठमाडौँलाई बस्न योग्य क्षेत्रका रुपमा विकास गर्छु,”– उहाँले भन्नुभयो ।
उहाँले राजनीतिलाई सही दिशामा लैजानका लागि बुद्धिजीवी, पेशागत र नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएका नेता प्रधानले निर्वाचनमा सही विवेक प्रदान गर्न मतदातालाई आग्रह समेत गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हिमाल शर्माले मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयो । “गठबन्धनभित्र भएको अन्तरविरोधलाई थाती राखेर आगामी निर्वाचनमा लोकतान्त्रिक– बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै लाग्नुपर्छ,”–उहाँले भन्नुभयो ।
काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (क)का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी र प्रदेशसभा (ख)का उम्मेदवार विष्णुभक्त तिमल्सिनाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धनको निर्माण भएको बताउनुभएको थियो ।
काँग्रेस क्षेत्र नं ६ का सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक श्यामकृष्ण खड्गीले प्रतिगमनलाई परास्त गर्न गठबन्धन निर्माण भएको बताउनुभयो ।
नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरपालिकाका सभापति अच्युत ओझाले लोकतान्त्रिक पद्धतीको रक्षा गर्न गठबन्धन निर्माण भएकाले उक्त गठबन्धनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी व्यक्ति काँग्रेस प्रवेश गरेका थिए ।


