काठमाडौ ।पाँचखालको जय श्रीकृष्ण डेरीको आयोजनामा एवं ज्ञानधारा दानाको सहयोगमा काभ्रेको पाँचखाल, मण्डन देउपुर र आसपास क्षेत्रका किसानको भेला गरि सन्तुलन पशु आहार कसरी व्यवस्था गर्न सकिन्छ र दुध उत्पादन कसरी बढाउने भन्ने विषयमा जय श्रीकृष्ण डेरी उद्योगका निर्देशक बालकृष्ण सापकोटाको सभापतित्व एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको प्रमुख आतिथ्यतामा एक कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, ज्ञानधारा दानाका प्रतिनिधि सुमन घोरासाइने, जय श्रीकृष्ण डेरीका संचालक सुरज सापकोटा एवं डेरी व्यवसायी, दुध संकलक, किसानहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
कार्यक्रममा सभापति सापकोटाले स्वागत मन्तव्य राख्दै अहिले नेपालमा कोभिड पछाडि दुध उत्पादन कम भएको र यो क्रम अझ बढ्दै जाने भएकोले अब हामीले दुध उत्पादन बढाउन गम्भीर भएर लाग्नु पर्नेछ । त्यसको लागि प्रमुख कुरा भनेको पशु आहार नै भएको र त्यसको प्रयोग सहि तरिकाले गर्न सक्दा उत्पादन लागत घट्नुका साथै पशु स्वास्थमा पनि राम्रो हुने कुरा बताउँदै आम किसानलाई अन्तर्राष्ट्रिय गुणस्तरको ज्ञानधारा दाना प्रयोग गर्न आग्रह गर्नु भयो ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अध्यक्ष घिमिरेले राम्रो सन्तुलित आहार दिन सक्दा लागत घट्नुका साथै उत्पादन पनि बढ्न गइ किसानलाई राहत मिल्न सक्छ भन्ने कुरा राख्नु भयो। ज्ञानधाराका प्रतिनिधि सुमन घोरासाइनेले ज्ञानधारा दानाको बारेमा बताउँदै कसरी, कुन समयमा, कति मात्रमा प्रयोग गर्ने भन्ने विषयमा कार्यक्रममा उपस्तिथि किसानलाई जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष दाहालले जबसम्म उत्पादन बढाउन सकिँदैन तबसम्म किसान कहिल्यै फाइदामा जान नसक्ने र बिस्तार किसानहरु यो पेशाबाटै पलायन हुने समय आउन सक्छ । अब किसानको हितको लागि आम सरोकारवाला सबै एकजुट भएर काम गर्नुपर्ने समय आएको छ । साँच्चै उत्पादन लागत घटाउने हो भने अब आम किसान शहरमुखि नभइ गाउँमुखि हुन आवश्यक रहेको छ । बिस्तार बिस्तार यसरी नै निजी क्षेत्रको सहभागीतामा आम किसानलाई जनचेतना फैलाउने काममा लाग्नुपर्छ अनि मात्र सन्तुलित र गुणस्तरीय आहारको बारेमा किसान जानकार भइ उत्पादन लागत घटाउन सक्नेछन् । अर्को कुरा भनेको यो पेशालाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गरि सम्मानजनक पेशाको रुपले हेरिनु पर्ने छ । यि यस्ता विविध कुराहरुको ख्याल गरि समस्याको हल गर्दै अगाडि बढ्ने हो भने हाम्रो देशमा नपुग दुध अबको केहि समयमा नै पुर्ति हुन सक्छ भन्ने कुरा बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा उपस्थित किसान मध्येबाट गोलाप्रथा गरि ४ जनालाई ज्ञानधारा दाना प्रदान गरिएको थियो । गोलाप्रथा गरि पुरस्कार पाउने कुसानलाई उपस्थित अतिथिहरुले प्रदान गर्नु भएको थियो।