
प्रल्हाद दाहाल
समाजमा रहेका सामाजिक मुद्दाहरूको बारेमा जसले निर्णय लिन्छ त्यो व्यक्ति वा संस्था नै नेतृत्व हो । अर्थात, सामाजिक मुद्दाहरुको उठान गर्ने ब्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने र निर्णय लिने ब्यक्ति वा समूह नेतृत्व हो । नेता ब्यक्ति हो भने नेतृत्व चाँहि सामुहिक विषय हो । सबै मानिससँग त्यो खालको क्षमता नहुन सक्छ ।
नेता र नेतृत्वमा फरक छ । यसलाई राम्रोसँग बुझेर अगाडि बढ्न सक्दा मात्र सफल हुन सकिन्छ भन्ने कुरा आम नेताले बुझ्न आवश्यक छ । साथै नेताले गर्ने काम के के हो ? भन्ने कुराको पनि आम जनतालाई जानकारी हुन जरुरी छ ।राजनीतिक नेताहरूले नीति बनाउने हो । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्ने गर्दछ । त्यसैले आजकाल आम मानिसहरु नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सकेन भन्ने गर्दछन् । हुन् पनि वास्तविक जनताको चाहाना अनुसार काम गर्ने नेता र नेतृत्वको अहिले खोजी भइरहेको छ। वर्तमान नेता र नेतृत्वमाथि अहिले भरोसा गर्न सक्ने कुनै अवस्था बनिरहेको छैन ।
समाज र नेतृत्वको बिचमा महत्वपूर्ण सम्बन्ध हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । विश्वमा रहेका महान नेता जस्तै हाम्रो देशमा पनि खोजिरहेका हुन्छौं । तर हामी कस्ता छौं, हामो समाज कस्तो छ भन्ने कुरा हामी भुलिरहेका हुन्छौं । हामी र हाम्रो समाज जस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । हामीले कल्पना गरेको जस्तो शक्तिशाली व्यक्तित्व आओस् र सबै समस्या समाधान गरिदिओस् भन्ने कुरा पुरा हुनलाई पहिला हाम्रो देश र यहाँको समाज परिवर्तन हुन जरुरी छ । हामी सबै समानता हुन आवश्यक छ भन्ने अनि फ़ेरि नेतृत्वमा चाँहि हामीले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्तिको कल्पना गरेर हामीले पाउन सक्दैनौं ।
नेतृत्व विभिन्न तरिकाबाट जन्मन्छ । कुनै जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति भएर जन्मिएको हुन्छ । केहि आत्मिक रुपमा गुण समायोजित भएर आएको हुन्छ । अर्को ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । त्यस्तो अर्को करिश्मा खालको पनि हुन्छन् । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन हुनु हो ।
लोकतन्त्रमा नेता र नेतृत्वमाथि ठूला चुनौति रहन्छन् । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं भनिरहेका छौं । तर, हाम्रो कामना के छ भने अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्ति नेता बनेर आओस् र हाम्रा सबै समस्याको समाधान गरिदिओस् भन्ने ठान्छौं। तर, उल्टो समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । एउटा असल नेता र नेतृत्व निर्माण गर्ने सबैभन्दा ठूलो सैद्धान्तिक समस्या यहिँनेर छ । हामी सबैलाई थाहा छ, नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ, तर के त्यो भइरहेको छ त ? छैन भने किन भइरहेको छैन भन्ने विषयमा कहिल्यै बहसले प्रवेश नै पाएन ।
अहिले आम जनताको अपेक्षा राज्यतिर बढी आश्रित छ । तर, हामी सबै राज्य र नेताप्रति आश्रित बनिरहेका छौं । सबैलाई थाहा छ, राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन भएको छ । समाज परिवर्तन भएपछि सामाजिक धरातल र परिवेश पनि परिवर्तन हुन्छ । यस्तो परिवर्तन हुनेबित्तिकै समाजको नेतृत्वमा संकट देखिन थाल्छ । समाजका विविध क्षेत्रमा चाहे त्यो धार्मिक, सामाजिक, आर्थिक, विकास वा सेवा र सुविधा वितरणको सवालमा होस सबै क्षेत्रमा राजनीति हावी बन्दै गयो। मौलिक सामाजिक नेतृत्वलाई राजनीतिले अशक्त र कमजोर बनाइदियो । परिवर्तनको शुरुवातमा राजनीतिक नेतृत्व क्रान्तिकारी देखिन्छ । तर, यत्रो युगान्तकारी परिवर्तन गरेर आएको राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेन् । सबै कुराको निर्धारण राजनीतिले मात्र गर्दछ भन्ने अहंकारले सामाजिकतालाई लथालिंग बनाइदियो । त्यही भएर राजनीतिक नेता र नेतृत्व सामाजिक विषयमा कन्जरभेटिभ देखिएका छन् । जसले स्वःपरिचालित समाजलाई परामुखी बनाइदिएका छन् । यसको पूर्ण जिम्मेवारी राजनीतिक पार्टीका नेताहरुले लिनु पर्छ ।
अहिले राजनीतिक नेतृत्व जाली र आडम्बरी बनेको छ । आम जनताको माझ कसम खाएका कामहरू गर्न छाडेका छन् । जुनसुकै दलको राजनीतिक नेतृत्व किन नहोस्, सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । अर्को कुरा, नेतृत्वले सामाजिक मुद्दाका माग पूरा गर्न सकेको छैन । हिजो यिनै राजनीतिक नेता र नेतृत्वका कारण समाजमा विभिन्न मागहरु सृजना भए । राजनीतिले नै माग सृजना गर्ने काम गर्यो । तर, आज राजनीतिक नेतृत्व नै ती मागहरुबाट भागिरहेको छ । यस्ता मागहरुका बारेमा राजनीतिक नेतृत्व र नेताहरुलाई सुन्ने फुर्सद नै हुँदैन । नेतृत्वको सबैभन्दा ठूलो क्षमता नै अरुको कुरा सुन्ने हो । सुन्दै नसुन्ने नेतृत्व चाँहि बेइमान हो । अहिले, राजनीतिक नेता र नेतृत्व आडम्बरी र बेइमानी बन्दैछ । यो समाज र जनताको लागि राम्रो पक्ष कदापि होइन ।
नेताले नियम कानुन बनाउने हो । नेता र नेतृत्व आफैंले बनाएको नियम कानूनमा बस्न सक्नु पर्दछ । चाहे त्यो मुलुकको संविधान, कानून वा नीति नियमहरु हुन् या पार्टीको विधि र विधान नै किन नहोस् । यो नियम त अरुलाई बनाएको हो, हामीलाई लाग्दैन भन्नु नेतृत्वको सबैभन्दा ठूलो अहिले वर्तमान समयको बेइमानी होे । तानाशाही यस्तै प्रवृत्तिबाट जन्मने हो । अहिले पार्टीको विधान, मुलुकको संविधान, कानून र नियमहरु मिच्नेहरुको नेतृत्वले पटक– पटक बेइमानी गरिरहेको देखिन्छ । यसले आम जनतामा नेतामाथि संखा उब्जिएको छ ।


