
काठमाडौं, मंसिर १९ गते ।हेम्स, इनोभेटिभ र काठमाडौं जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौं जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते ।
प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित ग¥यो । जितमा हेम्सका हेमन्त राजवंशीले २० अंक योगदान गरे । स्प्याङ्गल तेश्रो भयो ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा पूजा थापाको १० अंक सहयोगमा इनोभेटिभले काठमाडौं जेभियर्सलाई १२–७ ले हरायो । चैतन्य संस्कार शिक्षालयले तेश्रो स्थानमा चित्त बुझायो ।
घट्टेकुलोस्थित सूर्योदय माविमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले चैतन्यमाथि २२–१४ को जित रच्यो । काठमाडौं जेभियर्सका सुविन बस्नेतले ८ स्कोर गरे । सूर्योदय तेश्रो बन्यो ।
सिनियर ब्वाइजमा हेम्सका दृष्य खड्का, सिनियर गल्र्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौं जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एआईएका दिगेश आले मगर, सिनियर गल्र्समा काठमाडौं जेभियर्सकी सन्ध्या थापा र जुनियर ब्वाइजमा चैतन्यका समिर केसी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
सिनियर ब्वाइजमा चैतन्य, सिनियर गल्र्समा स्वप्नवाटिका र जुनियर ब्वाइजमा एआईए अनुशासित टिम चुनिए ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय कमिटीका अध्यक्ष दिनेशकुमार पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर ब्वाइजमा १७, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा ९ गरी जम्मा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

बेस्ट ग्रुप र लोयल्टी सेमिफाइनलमा
बेस्ट ग्रुप भिजन एकेडेमी र लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित ग¥यो । सेमिफाइनलमा श्री सञ्जयको भेट लाइसियम प्याराडाइससंग हुनेछ ।
चौथो तथा अन्तिम सेमिफाइनलमा लोयल्टीले अर्किडलाई ७–० गोलले हरायो । सेमिफाइनलमा लोयल्टीले आयोजक नेक्सस इन्टरनेसनल एकेडेमीको सामना गर्नेछ ।
दुवै सेमिफाइनल बिहीबार हुने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् । फाइनल शनिबार हुनेछ ।


