
नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नापतौल गर्ने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाल खुद्रा व्यापार संघसँगको सहकार्यमा टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो ।
उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानूनअनुसार कारबाही गर्नेसमेत जनाएको छ । मंगलवार काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको पसलहरूमा कार्यलयकी सहायक निरीक्षक अनिता घिमिरेको नेतृत्वमा निरीक्षणको टोली पुगेको थियो ।
सहायक निरीक्षक घिमिरेले पसलमा भएका नापतौल ढक तराजु दर्ता नगर्ने व्यवसायीहरूलाई अनुगमन फारम भराई तीन दिनभित्र ढक तराजु दर्ता गर्न निर्देशन दिइन् । उनले तराजुमा कुनै कैफियत भेटिए कारबाही गरिने पनि बताइन् । उनले काठमाडौंलगायत विभिन्न जिल्लाका व्यवसायी फर्म तथा पसलमा शुक्रवारसम्म निरीक्षण गरिने बताइन् । उनले व्यापारीहरूले ढक तराजु खरिद गरेको मितिले ३५ दिनभित्र अनिवार्य दर्ता गर्नुपर्ने अन्यथा जरिबाना हुने कानूनी व्यवस्था रहेको पनि जानकारी दिइन् ।
नेपाल खुद्रा व्यापार संघका सदस्य शिव डंगोलले व्यापारीले प्रयोग गर्दै आएका ढक तराजुका साथै डिजिटल काटा बिग्रिएको हुनसक्ने भएकाले ठीक छ कि छैन भनी जाँचबुझ गर्न टोली बनाएको बताए ।
नापतौल विभागले काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला कार्यक्षेत्र रहेको नापतौल कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ । नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजारसम्म जरिबाना गर्दै आइएको पनि कार्यालयले जनाएको छ ।


