दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

८० वर्षीय किसानको कृषिप्रतिको लगामलाई स्यालुट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष १५ गते, शुक्रबार १५:५१

डा. हरिकुमार श्रेष्ठ
पालुङ्गटार–६,भोटेकाटे,गोरखा

नेपाल एक कृषि प्रधान देश हो, जहाँका करिब ६५ प्रतिशत जनता कृषि पेशामा आश्रित छन् । तापनि कृषि वस्तुको न्युन उत्पादनको कारण दैनिक उपभोग्य वस्तुहरु तथा भान्सामा प्रयोग हुने कृषिजन्य वस्तुहरु जस्तै, चामल, गहुँ, दलहन, तेलहन, फलफूल तथा तरकारी भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ । त्यसैले आयातमुखी अर्थव्यवस्थाको कारण राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो धक्का परेको अवस्था छ ।
नेपालका अधिकांश युवाहरु वाद्यात्मक परिस्थितिका कारण रोजगारीको लागि विदेशतिर भासिएका छन् । पढेलेखेका अधिकाँश युवाहरु पनि खेतीपातिमा इच्छुक देखिदैनन् । यसको कारण जमिन बाँझो बन्दै गइरहेको अवस्था छ । गाउँघरमा केही छैन र गर्न सकिन्न भन्ने युवाहरुको जमात पनि बढ्दो छ । किनकि, एकातिर उत्पादनका हरेक साधनहरुको मूल्य पनि बढ्दो छ र बिचौलियातन्त्रको विगविगीका कारण किसानहरुले उत्पादन गरेका वस्तुहरुको उचित मूल्य पाउन पनि सकेका छैन भने अर्कोतिर कतिपय अवस्थामा आयातित वस्तुहरुसँग प्रतिस्पर्धि बन्न नसक्दा उत्पादित कृषि बस्तु बारीमै कुहिँदै फालिएको अवस्था छ । जसका कारण, हिजोआज गाउँघरको कुनाकाप्चामा आयातित तरकारी पुगेको छ । मानिसहरु आफैँले दुख गरेर उत्पादन गरेका ताजा वस्तु खानभन्दा पनि किनेर खान रमाउने भएका छन् । तरकारी मात्र हैन अन्य दैनिक उपभोग्य सामग्रीहरु जस्तै दाल चामलको अवस्था पनि त्यस्तै नै छ । अझ चाउचाउ, कुरकुरे, बियर, कोकाकोला जस्ता वस्तुहरु त यत्रतत्र पाइन्छन् ।


कृष्णबहादुर आलेको तरकारी बारीमा किसानहरुको अवलोकन भ्रमण (फोटोग्राफर ः टीकाराम श्रेष्ठ)
मानिसहरुमा गाउँघरमा केही छैन र केही गर्न सकिन्न भन्ने मनोभावनाको विकास भएको पाइन्छ । तर त्यस्ता व्यक्तिहरुको लागि प्रेरणाका स्रोत बनेका छन् पालुङ्गटार–६, भोटेकाटेका ८० वर्षीय लक्ष्मी बहुउद्देश्यीय किसान समुहका सल्लाहकार कृष्णबहादुर आले मगर । यहि पौष १२ गतेका दिन दिउँसो करिब २५ जना किसानहरुसँगको अन्तरक्रियापछि हामी केही व्यक्तिहरु उहाँको आमन्त्रणमा उहाँको कृषि कार्य अबलोकनको लागि गएका थियौँ । उहाँ भारतीय सेनाका निवृत्त सेना हुनुहुन्छ । उहाँ भारतीय सेनामा करिब २० वर्षको सेवा अवधिपछि २०३६ सालमा स्वदेश फर्केदेखि हालसम्म कृषि पेशामै आबद्ध हुँदै आउनुभएको छ । उहाँको जोस र जाँगर हेर्दा लाग्छ अझै पनि जवानी नै हुनुहुन्छ । मेहनति किसानको दैनिक जीवनको कम्तिमा पनि २–३ घण्टा खेतबारीमै बित्छ । यो पंक्तिकारले तरकारी बालीको अबलोकन गरी लिएका जानकारीहरु यहाँ पस्कने जमर्को गरिएको छ ।

पालुङ्गटारका अधिकाँश कृषि क्षेत्रहरु सिँचाइको अभावका कारण कृषि कार्यहरु मौषमी वर्षामा मात्र आधारित छन् र हिउँद याममा प्रायजसो जमिन बाँझो देखिन्छ । तर उहाँको बारीमा भने यस्तो सुख्खा मौषममा पनि तरकारी बालीहरु लटरम्म देखिन्छन् । हाल उहाँको करिब तीन रोपनि बारीमा हिउँदे तरकारी काउली, प्याज, लसुन, धनिया, रायोसाग, आदी छन् । सिँचाइको लागि बढी भएको खानेपानीबाटनै व्यवस्था गरिएको छ । यसको अलावा उहाँको करिब १३ रोपनिमा बारीमा मौषमअनुसारका धान, मकै, तोरी, वर्षे तरकारी (फर्सी, लौका, घिरौँला, चिचिण्डा) को घुम्तिबालीको रुपमा, फलफूल (आँप, मेवा, लिची, अम्बा, कागती, ज्यामिर, केरा), आदी पनि पाइन्छ जुन आफ्नो परिवारको लागि वर्षैभरी प्रसस्त पुग्ने कुरा सुनाउनुहुन्छ । यसको साथै पशुपञ्छीमा भैँसी, बाख्रा, बँगुर, कुखुराको साथै मौरी पनि छन् । यस कार्यमा परिवारजनको सहयोग पनि राम्रो रहेका कुरा बताउनुहुन्छ । अझ रोचक कुरा त आफ्नो परिवारलाई बढी भएका तरकारीहरु केही बिक्री गर्दै आएका छन् भने केही छिमेकीहरुलाई पनि वितरण गर्दै आएका छन् । तरकारीबाट भएको आम्दानीले आफ्नो दैनिक पकेट खर्च चलेको कुरा पनि सुनाउनुहुन्छ । यस्ता किसानलाई स्यालुट ।

यस्तै गरेर, अन्य व्यक्तिहरुले पनि भएको जमिनको उचित प्रयोग गरेर उत्पादन गर्न सकेका ताजा खाना आफ्नै आगनमा उपलव्ध गर्नसक्ने र चुलिँदै गएको आयात प्रतिस्थापन गर्न पनि मद्धत पुग्न जाने देखिन्छ । तर राज्यको नजरमा यस्ता उदाहरणीय किसानहरु छायाँमा परेका छन् । गाउँघरमा भौँतारिएर हिड्ने युवा जमात पनि यसरीनै कृषि पेशा वा अन्य व्यवसायतिर लाग्नसके देशले फड्को मार्न सहयोग हुने देखिन्छ । यसको लागि राज्यले स्कूलदेखिनै केटाकेटीहरुलाई कृषि तथा अन्य व्यवसायतिर पनि संलग्न गराउने खालका व्यवहारिक ज्ञान दिन जरुरी छ । हिजोआज स्कूलका विद्यार्थीहरुको पढ्दै कमाउँदै कार्यक्रमले केही हदसम्म यो समस्या चिर्न सफलता हासिल गरेको छ ।
राज्यले युवाहरु विदेश पलायन गराएर रेमिट्यान्स बढाउने नीतिभन्दा पनि स्वदेशमै उनीहरुलाई विभिन्न कृषि तथा जडिबुटि फार्मलगायत अन्य उद्योगधन्दाहरुको स्थापना गरी संलग्न गराएर कृषि उत्पादकत्व तथा उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै निर्यात प्रबर्धनमा जोड दिन जरुरी देखिन्छ भने विभिन्न राजनीतिक दलहरुले पनि प्रत्येक गाउँमा उत्पादन दस्ता तयार गरी उत्पादनमुखी बनाउन जरुरी छ । एक ८० वर्षीय बृद्धाले त यो हिम्मत र लगामको साथ कृषिमा केही प्रगति गर्न सक्छन् भने युवाहरु यी कार्यहरु गर्न नसक्ने कुरै छैन ? तर यसको लागि राज्यको युवा किसान तथा उत्पादनमैत्री नीति निर्माण गरी कार्यान्वयन हुन जरुरी छ । तथाकथित किसान तथा फार्मको नाममा राज्यबाट दिइने सेवा सुविधा वास्तविक किसानको पहिचान गरी उपलव्ध गराउन सकेमा राज्यले सहि मार्गतिर फड्को मार्न सक्छ अन्यथा उपलव्धि सधैँभरी न्युन रहि परनिर्भरता बढ्ने सिवाय केही हुने छैन । यसको अलावा, पक्की सडक, सिँचाइ, गुणस्तरीय बीउबिजन तथा उत्पादनका सामग्री, उन्नत प्रविधि, बजारीकरण तथा राहत कार्यक्रम उचित किसिमले व्यवस्था हुन जरुरी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु