
काठमाडौँ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको अध्यक्षमा पुरुषोत्तम सिंखडा निर्वाचित हुनुभएको छ ।
व्यवस्था लिमिटेडका बुधबार सम्पन्न वार्षिक साधारण सभाले सिंखडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित सिंखडा सोही कम्पनीको प्रबन्ध निर्देशक समेत हुनुहुन्थ्यो ।
नवनिर्वाचित अध्यक्ष सिंखडाले स्वदेशी तथा विदेशी पर्यटकको सेवाका लागि स्थापना भएको व्यवस्था लिमिटेडलाई देशको नमूना यातायात क्षेत्रको रुपमा विकास गर्दै लगिएको बताउनुभयो ।
नेपालमा हवाई मार्ग हुँदै नेपाल आउने र विदेश जाने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सुविधा दिनका लागि विस २०६६ सालमा स्थापना भएको व्यवस्था लिमिटेडले हाल २०८ सवारी साधनबाट सेवा प्रदान गर्दे आइरहेको अध्यक्ष सिंखडाले बताउनुभयो ।
वार्षिक साधारण सभाका अवसरमा तीनजना उत्कृष्ट चालक, तीनजना उत्कृष्ट चालक र तीनजना उत्कृष्ट कर्मचारीलाई रु पाँच हजार १०० नगद पुरस्कारद्धारा सम्मान गरिएको थियो ।


