
काठमाडौँ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डामा समझदारी जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार ५ बजेदेखि करीव ५ घण्टा १० बजेसम्म भएको छलफलपछि सहमति भएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा दलहरुले आ आफ्ना अडान लिँदा छलफल लम्बिएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएकाे हाे । यस्तै जसपाले २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा अझै सहमती भएको छैन ।
सोमबार विहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच बालकोटमा झण्डै ५ घण्टा छलफल भएको थियो । सो क्रममा मन्त्रिपरिषद्लाई पूर्णता दिने र सभामुख निर्वाचनबारे छलफल भएको थियो । पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो । सोमबारको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सोमबारै टुङ्गो लाग्ने बताएका थिए । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा सोमबार बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग बताए । सभामुखको निर्वाचनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, “विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, मङ्गलबार पनि छलफल हन्छ ।” सभामुखको निर्वाचनकाबारेमा पनि मंगलबारको छलफलमा निष्कर्षमा पुगिने सङ्केत उनले गरे । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटको विषय करिब सहमतिमा पुगेको पनि प्रधानमन्त्री दाहालले सङ्केत गरे


