काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकपछि सरकार छाड्ने निर्णय गरेको हो ।
रास्वपाले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेकाे छ ।
सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय नपाएपछि रास्वपा बाहिरिने निर्णयमा पुगेकाे हाे । नागरिकता प्रकरणपछि सांसद र मन्त्री पद गुमाएका रास्वपा सभापति रवि लामिछाने पुनः गैरसांसद भएपनि गृहमन्त्री बन्ने दाैडमा थिए । तर, सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रले नमानेपछि रास्वपा यस्तो निर्णयमा पुगेको हो ।
सत्ता साझेदार दलहरु एमाले र राप्रपा भने रवीलाई नै गृहमन्त्री बनाउने पक्षमा थिए ।
रास्वपाबाट सरकारमा डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपाको यस्तो निर्णयसँगै उनीहरुले पनि राजीनामा दिनेछन् । रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए।