
२९ माघ २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पाटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा आत्म विश्वास भएकोले कोही पनि शिक्षाबाट बञ्चित हुन नहुने बताउनु भयो । Access Planet ले Disability Rights Fund सँगको साझेदारीमा आज काठमाडौंमा आयोजना गरेको अपाङ्गता भएका बालिका तथा युवा महिलाको समावेशी शिक्षा र प्रविधिमा पहुँचको अवस्थाको विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा उक्त भनाई राख्दै शिक्षा र सीपलाई सँगसँगै लैजानु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको अवस्थालाई सहज र अपाङ्गता मैत्री बनाउनका लागि आफ्नो तर्फबाट सधै आवाज उठाउने प्रतिवद्ता पनि व्यक्त गर्नु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुका अन्य सवलहरुलाई पनि समावेश गर्न र पूर्ण रुपमा कार्यन्वयन गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताउनु भयो ।
सो कार्यक्रममा आयोजक संस्था Access Planet का कार्यक्रम सहायक जेनिशा महर्जनले संस्थाले सञ्चालन गरेको अपाङ्गता भएका बालबालिका तथा युवा महिलाका समावेशी शिक्षा तथा सहायक प्रविधिमा पहुँचको प्रवर्धन सम्बन्धी परियोजनाका उपल्बधी तथा चुनौतीका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै क्रममा उहाँले संस्थाले कैलाली, बाँके र भक्तपुर जिल्लामा स्थानीय तहसँग समन्वय गर्दै शिक्षाका विषयमा वकालत तथा पैरवी गर्दै आएको पनि जानकारी गराउनु भयो ।

यसै क्रममा Access Planet का सह-संस्थापक लक्ष्मी नेपालले अन्य व्यक्तिहरुको तुलनामा अपाङ्गता भएका बालिका तथा युवा महिलालाई विविध अवरोधका कारण शिक्षा लिन कठिनाई भएकोले यस संस्था मार्फत कार्यको सुरुवात गरिएको बताउनु भयो । सथै उहाँले राज्यले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भएता पनि विकट क्षेत्रहरुमा अपाङ्गता भएकै कारण अधिकांश अपाङ्गता भएका बालिका तथा युवा महिलाहरुलाई शिक्षा लिन भौतिक, सामाजिक, आर्थिक चुनौतीहरुको सामना गर्न परेको बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका बालबालिका र युवा महिलाहरुको गुणस्तरिय शिक्षाको लागि प्रविधि र सहायक सामाग्रीको पनि पहुँच अभिवृधि गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा दाङ् जिल्लाकी दृष्टिविहिन युवा महिला सुनिता नेपालीले आफु दलित तथा दृष्टिविहिन महिला भएकै कारण विद्यालय स्तरको शिक्षा लिन विभिन्न अवरोधहरु भएको भन्दै अबका दिनमा अपाङ्गता तथा दलित महिलाहरु प्रतिको सामाजिक दृष्टिकोणमा सकारात्मक जनचेतना जगाउनका लागि सबैले सक्दो सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी सेवालय समावेशी समाज SIS का अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले समावेशी शिक्षाको उदेश्य अनुरुप नीति नियमहरु बनाएर पूर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने, सबै सामुदायिक विद्यालयहरुमा अपाङ्गता भएका बालबालिकाहरुलाई अध्ययन गर्न सक्ने वातावरण र दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको समावेशी शिक्षाको अवरोधका विषयमा बुझाउन जरुरी रहेको, यस्ता विद्यार्थीहरुका लागि प्रत्येक विद्यालयमा सहयोगी शिक्षकहरुको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
Access Planet ले आज राजधानीमा आयोजना गरेको अपाङ्गता भएका बालिका तथा युवा महिलाको समावेशी शिक्षा र प्रविधिमा पहुँचको अवस्था र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी उपाध्यक्ष मिना पौडेलले अपाङ्गताका सवालमा धेरै नीति नियमहरु बन्ने तर पूर्ण रुपमा कार्यन्वयन नहुने हुदा समस्या हुने भन्दै नीति नियमहरु पूर्ण रुपमा कार्यन्वयन गर्नु पर्ने, अपाङ्गता मैत्री नीति बनाउनु पर्ने, अपाङ्गताको प्रकार अनुसार प्रविधिको विकास गरी शिक्षा प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी शैक्षिक गुणस्तर परीक्षण केन्द्रकी निर्देशक सरला पौडेलले प्रत्येक सामुदायिक विद्यालयहरुले अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति उपल्बध गरेको वा नगरेको, अपाङ्गता मैत्री भौतिक संरचना निर्माणको अवस्था लगायतका विषयमा विद्यालयको परीक्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले यस पटक ५० वटा सामुदायिक विद्यालयहरु परीक्षण गर्ने र अपाङ्गता भएका बालिका तथा युवा महिलाहरुको गुणस्तरिय शिक्षाको लागि आफ्नो तर्फबाट सक्दो कदम चाल्ने बताउनु भयो ।
यसै क्रममा पांठ्यक्रम विकास केन्द्र समावेशी शिक्षा विभागका प्रमुख गोविन्द सेँडाइले अपाङ्गता भएका व्यक्तिहरुको गुणस्तरिय शिक्षाको लागि अपाङ्गताको प्रकार अनुसार पाठ्यसामाग्री निर्माण गर्ने कार्यको सुरुवात भएको भन्दै आगामी दिनमा यस विषयमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो ।
यस अन्तरक्रिया कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका समावेशी शिक्षा शाखाका शाखा अधिकृत नारद प्रसाद धमलाले विद्यालय स्तरको शिक्षा लिने अपाङ्गता भएका बालबालिकाहरुलाई अपाङ्गताको अवस्था तथा प्रकारको आधारमा छात्रवृत्ति उपलब्ध गराउदै आएको बताउनु भयो । साथै उनीहरुलाई शिक्षा लिन सहज होस भनेर दृष्टिविहिन अपाङ्गता भएका विद्यार्थीका लागि ब्रेलपुस्तक, अडियो बुक, डेजी, पेनड्राइभ, रेडियो सामाग्रीहरु वितरण गर्ने गरेको जानकारी गराउदै अपाङ्गता भएका व्यक्तिहरुलाई विद्यालय भर्ना अभियानमा जोड दिनु पर्ने, उनीहरुलाई भर्ना गर्दा शैक्षिक शत्र लागू गर्न नहुने, जुनसुकै समयमा पनि उनीहरुलाई भर्ना लिइनु पर्ने बताउनु भयो ।
यस कार्यक्रममा Disability Rights Fund का कार्यक्रम अधिकृत कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता अनुकुलको वातावरणमा शिक्षा प्रदान गर्नका लागि राज्य तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले काम गर्दै आएको भन्दै सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको सवाललाई संवोधन गरिनु पर्ने बताउनु भयो । त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरुलाई कुनै विभेद विना नै शिक्षामा समावेश गर्नु पर्ने, पहुँचयुक्त प्रविधिमा शिक्षा उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनु भयो ।


