
१३ फागुन २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं
नेपाल सरकारुले वर्गिकरण गरेका १० प्रकारका अपाङ्गता मध्ये मनोसामाजिक, बौदिक, श्रवणदृष्टिविहिन र अटिजम अपाङ्गता पनि पर्दछन् । राज्यले सबै नागरिकहरुलाई कानूनी व्यवस्था अनुसार विभिन्न सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । ती कानूनी व्यवस्था र सेवा सुविधाहरु सबै प्रकारमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पुग्न सकेका छैनन् । यस्तै समस्याहरुको न्यूनीकरण गरी उनीहरुको जीवन सहज बनाउनका लागि कोशिश, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सोवालय समावेशी समाज SISN ले हिजो फागुन १२ गते शुक्रबार राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गर्यो ।
सो छलफलमा यी नै अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार सुनिश्चित गर्नका लागि सञ्चालन गर्न लागेको नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको कार्यन्वयनलाई तिब्रता दिदै धारा १२ मा आधारित कानूनी क्षमता र सहयोगी सहितको निर्णय पद्तीलाई प्रवर्धन गर्ने परियोजनाको विषयमा पनि जानकारी गराइएको थियो ।
उक्त परियोजनाको विषयमा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले नेपालका केही ऐन कानूनहरुले मनोसामाजिक तथा सिकाई प्रक्रियामा ढिलाई हुने अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद गरेको भन्दै अबका दिनमा यस्ता कानूनहरु पुनर्वलोकन गर्न सुझाब दिनु पर्ने बताउनु भयो । साथै उहाँले मनोसामाजिक अपाङ्गताको विषयमा पनि जानकारी गराउनु भएको थियो ।
त्यसै गरी सोवालय समावेशी समाज SISN का अध्यक्ष मुकुन्दहरी दाहालले कुनै पनि व्यक्तिले आफ्नो निर्णय आफै गर्न पाउनु पर्ने यदी आफै निर्णय गर्न नसक्ने भएमा उनीहरुको सहमती वा सहभागीतामा अभिभावकहरुले गर्ने व्यवस्था हुनु पर्ने बताउनु भयो । साथै उहाँले सबै प्रकारका अपाङ्गताको विषयमा समबुझाई हुनु पर्ने भन्दै अबका दिनमा अपाङ्गताको विषयमा व्यापक रुपमा जनचेतना जगाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा हिमोफिलिया सोसाइटी नेपालका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार बेदराज ढुङ्गानाले हिमोफिलिया रत्तश्राप सम्बन्धी अपाङ्गता हो भन्दै यस विषयमा पनि सबैलाई जानकारी नभएकोले सबैले बुझ्न जरुरी रहेको भन्दै समस्या समाधान गर्नु पर्ने विषयमा जोड दिनु भयो ।
त्यसै गरी कोशिशका कार्यक्रम अधिकृत रस्मिता तामाङ्गले अपाङ्गता भएका व्यक्तिहरुका लागि ऐन कानून निर्माण गर्दा वा संशोधन गर्दा महिला बालबालिका तथा ज्योष्ठ नागरिक मन्त्रालय, कानून मन्त्रालय र अन्य सरोकारवाला निकायहरुसँग छलफल गर्नु पर्ने बताउनु भयो ।
सो छलफल कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको कानूनी सक्षमता, सहयोगी सहितको निर्णय पद्ती कार्यन्वयन र सूचना, शैक्षिक तथा जानकारी मूलक सामाग्री निर्माणको विषयमा छलफल गरिएको थियो ।
यस कार्यक्रममा उपस्थित सहभागीहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक भित्र पनि अपाङ्गता हुने र उनीहरुका लागि पनि सबैले आवाज उठाउनु पर्ने, अटिजम, श्रवणदृष्टिविहिन, मनोसामाजिक, बौदिक अपाङ्गताका विषयमा वृहत छलफल गरी प्राप्त सल्लाह सुझाब अनुसार काम गर्नु पर्ने बताउनु भएको थियो ।


