स्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ६ गते, सोमबार १९:०६

काठमाडौं, चैत ६ गते ।यही चैतको दोस्रो शाता स्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । हिमशिखर क्लबको आयोजनामा चैतको १३ देखि १६ गतेसम्म जिल्ला स्तरीय पुरुष भलिबल आयोजना हुन लागेको हो ।
क्लबले हरेक वर्ष आयोजना गर्दै आइरहेको चैते दशैं मेलाको अवसरमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टोलीले १,११,१११ र दोस्रो हुने टोलीले ७१,१११ प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलीलाई आयोजकले नै खानपिन र बासको व्यवस्था गर्ने छ ।
टोलीहरुले प्रतियोगितामा सहभागी हुनका लागि ५,००० प्रवेश शुल्क तिर्नुपर्ने छ । प्रतियोगिताको दौरान ४० वर्ष भन्दामाथीका खेलाडीहरुको भेट्रान्स खेल समेत हुने छ । भेट्रान्सतर्फ प्रथम हुने टोलीले लोकलखसी पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका कोषाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता सफल बनाउन स्वदेश तथा बिदेशमा रहेका शुभ चिन्तकहरुबाट आर्थिक सहयोग जुटेको क्लबले जनाएको छ । प्रतियोगिताका लागि फेदिखोला गाउँपालिकाले समेत वडामार्फत ५० हजार बजेट छुट्टयाएको छ । मेलाको अवसरमा भलिबलका साथै घैटो फुटाउने, छेलो हान्ने खेल पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
मेला र प्रतियोगिताको दौरान स्थानीय र राष्ट्रिय कलाकारहरुले नृत्य र साङ्गितिक प्रस्तुति दिने छन् । सो अवसरमा चर्चित दोहोरी कलाकारहरु श्याम राना मगर, दुर्गा गुरुङ, शंकर बिरही गुरुङ, माया गुरुङलगायत कलाकारले प्रस्तुती दिने आयोजक कलबका अध्यक्ष टुकबहादुर गुरुङ (देउता) ले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगितामा २० भन्दा बढी टोलीले सहभागीता जनाउने आयोजकको अनुमान छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने अनुमान गरिएको छ ।
वि.स. २०५० सालमा स्थापना भएको हिमशिखर क्लबले नियमित रुपमा यस्ता खेलकुद कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु