डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रिया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ६ गते, सोमबार २१:१७

६ चैत २०७९ शर्मिला विश्वकर्मा, काठमाडौ

हरेक वर्षको मार्च २१ तारिखका दिन विश्व भरी विश्व डाउन सिन्ड्रोम दिवसको मनाउने गरिन्छ । यसै अवसरमा आज राजधानीमा डाउन सिण्ड्रोम समाज नेपालले डाउन सिन्ड्रोमबाट प्रभावित बालबालिकालाई उचित शिक्षा र तालिम प्राप्त भएमा आत्मनिर्भर, समावेशी शिक्षा तथा उनीहरुको रोजगार लगायतका सवालमा सरोकारवाला निकायहरुसँग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।
यसै कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अपाङ्गता प्रवद्र्धन शाखा प्रमुख उपसचिव जमुना मिश्रले राज्यले अपाङ्गता भएका व्यक्तिका अधिकारलाई सम्वोधन गर्न अपाङ्गता सम्वन्धी दस वर्षे राष्ट्रिय नीति, अपाङ्गता भएका व्यक्तिका अधिकार सम्वन्धी ऐन, २०७५, समावेशी शिक्षा नीति ल्याएकोमा यसको पूर्ण कार्यान्वयनका लागि सरोकारवाला सङ्घ संस्था र हरेक सचेत नागरिक एकजुट हुनु पर्ने बताउनु भयो ।

विश्व डाउन सिन्ड्रोम दिवसको सन्दर्भमा आज सोमवार राजधानीमा आयोजित गोष्ठीमा सहभागी वक्ताहरूले डाउन सिन्ड्रोमबाट प्रभावित बालबालिकालाई उचित शिक्षा र तालिम प्राप्त भएमा आत्मनिर्भर हुन सक्ने भएकोले समावेशी शिक्षा नीतिलाई कार्यान्वयनमा जोड दिएका थिए । साथै
समावेशी शिक्षा नीति र अपाङ्गता मैत्री भौतिक पहुँचको विस्तार गरी डाउन सिन्ड्रोम भएका व्यक्तिको जीवन सहज बनाउने वातावरण तयार गर्नु पर्ने र यस विषयमा राज्यले पनि ध्यान दिनु पर्ने सहभागीहरुको भनाई रहेको थियो ।

सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले अपै ङ्गता भएका बालबालिकाका लागि प्रविधीयुक्त सिकाइ पद्धतीमा जोड दिनु पर्ने भन्दै अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिकाले पुस्तक र शिक्षकको सिकाई पद्धती अनुसार पढ्न, सिक्न नसक्ने भएकोले चित्र, भिडियो लगायतका विधि अपनाएर सिकाउनु पर्ने कुरामा जोड दिनु भयो ।

यसै क्रममा डाउन सिण्ड्रोम समाज नेपालका अध्यक्ष शिला थापाले सन् २००६ देखि डाउन सिण्ड्रोम अवस्था भएका व्यक्तिहरुको लागि वकालत तथा पैरवी गर्दै आइरहेको बताउनु भयो । साथै उहाँले सत्यम दिवा सेवा मार्फत डाउन सिण्ड्रोम अवस्था भएका केटाकेटीहरुको बौदिक, शारीरिक तथा मानसिक विकासको लागि पुनर्स्थापनाका कार्यक्रमहरु सञ्चालन गरेकोमा हाल ३ जना डाउन सिण्ड्रोम अवस्था भएका युवाहरु रोजगारीको लागि तालिममा आवद् छन् भने डाउन सिण्ड्रोम समाज नेपालमा नेपाल भरीका ३ हजार ५ सय जना जति अभिभावकहरु सम्पर्कमा रहेको समेत बताउनु भयो ।

उहाँले अपाङ्गता भएका बालबालिकालाई परिवारले घरबाहिर नै ननिकाल्ने अवस्थामा परिवर्तन आएको छ, राज्यले अपाङ्गता भएका बालबालिकामा पनि लगानी गरेर आत्मनिर्भर बनाउने वातावरणका लागि अभिभावकलाई सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

साथै बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले अपाङ्गता भएका बालबालिकालाई अभिभावक, परिवार, शिक्षकको विशेष सहयोग र अपाङ्गतामैत्री वातावरणका साथै उनीहरुलाई अन्य बालबालिकासँगै राखेर पढाउने वातावरण निर्माण गर्न सकेमा अपाङ्गता भएका बालबालिका र अन्य बालबालिका बीच पनि सहयोगी भावनाको विकास हुने बताउनु भयो ।
सो कार्यक्रममा अपाङ्गता अधिकारकर्मीहरु, अभिभावक, सरोकारवाला निकायका साथै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागिता रहेको थियो भने उहाँहरे डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितका लागि आ – आफ्नो तर्फबाट वकालत तथा पौरवी गर्न बताउनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु