टोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ११ गते, शनिबार १९:३५

काठमाडौँ । टोखा नगरपालिकास्तरीय कस्यप गोत्रीय अधिकारी समाज नेपालको पहिलो नगर समिति गठन गरिएको छ । आज यहाँ आयोजित भेलाले सन्तोष अधिकारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

देशका करिब ७२ जिल्लामा वसोवास गर्ने कस्यप गोत्रीय अधिकारीहरुको साझा समाज निर्माण गर्ने अभियानअन्र्तगत पालिकास्तरमा पहिलो समिति गठन गरिएको हो । विभिन्न समूहमा विभाजित कस्यप गोत्रीय अधिकारीको एउटै समाज बनाउन लागिएको सो अवसरमा जानकारी दिइयो ।

टोखा ११ का पूर्व वडाध्यक्ष उत्तम अधिकारीको सभापतित्वमा आयोजित सो समारोहमा पूर्व सहायकमन्त्री एवं विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष रामचन्द्र अधिकारीले बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रमा सबै जातजाति, धर्म सम्प्रदायका मानिसले अवसर पाउने बताउँदै हिन्दू र वौद्ध धर्ममाथि इसाईकरण गर्न खोजिएकाले धार्मिक युद्ध गराउन खोजिएकाले सबै सचेत हुन जरुरी छ भन्नुभयो ।

सांसद रामनाथ अधिकारीले देशभरका कस्यप गोत्रीय अधिकारीहरुको साझा समाजको आवश्यकतामा जोड दिनुभयो । अर्थविद् डा चन्द्रमणि अधिकारीले भूगोल, संस्कृति र भाषाको संरक्षण गर्न सकिएमा मुलुकको समृद्धिमा योगदान पुग्ने बताउनुभयो ।

सो अवसरमा कस्यप गोत्रीय अधिकारी समाजका वरिष्ठ उपाध्यक्ष युवराज अधिकारी, महासचिव रामप्रकाश अधिकारी, सचिव विश्वनाथ अधिकारी, केन्द्रीय सदस्य प्रदीप अधिकारी, समाजका काठमाडौँ अध्यक्ष प्रमोद अधिकारी, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीलगायतले पनि कस्यप गोत्रीय अधिकारीको संगठन विस्तार, वंशावली तयार, कूलपूजालगायत विभिन्न विषयमा बोल्नुभएको थियो ।

सो अवसरमा प्रसिद्ध लोकगायक खुमन अधिकारी र कलाकार रामचन्द्र अधिकारीले गीत तथा कला प्रस्तुत गर्नुभएको थियो । विसं २०६६ मा स्थापना भएको कस्यप गोत्रीय अधिकारी समाजले चितवनको देवघाटमा कस्यप आश्रम निर्माण गरी देशभरका कस्यप गोत्रीय अधिकारीहरुलाई संगठित गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु