
१३ चैत २०७९ शर्मिला विश्वकर्मा, ललितपुर
राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपाल शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्तताका सवालमा वकालत तथा पैरवी गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै सरकारी तथा गैर सरकारी निकायका संरचनाहरु, सार्वजनिक भवनहरु पहुँचयुक्त तथा अपाङ्गता मैत्री बनाइनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुका लागि राज्यले कार्य योजना बनाएर कार्यक्रम सञ्चालन गरिनु पर्ने लगायतका सवालमा काम गर्दै आएको छ ।
यसै सन्दर्भमा यही चैत १२ गते ललितपुर महानगरपालिकामा यस राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले एक दिने अपाङ्गता समानता /अनुशिक्षण तालिमको आयोजना गर्यो । सो तालिममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी महासिचव रमा ढकालले उपस्थित जनप्रतिनिधिहरुलाई अपाङ्गता प्रतिको सामाजिक दृष्टिकोणमा सकारात्क परिवर्तन ल्याउन जरुरी रहेको भन्दै अपाङ्गताको विषयमा जानकारी गराउनु भयो । साथै उहाँले सबै सरकारी निकायहरुमा पहुँचयुक्त, मानव मैत्री संरचना निर्माणमा सबैले आ-आफ्नो तर्फबाट सक्दो पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
सथै उहाँले सो तालिम कार्यक्रमको पहिलो चरणमा अपाङ्गताको विषयमा प्रष्ट पार्नको लागि मानव मैत्री नभएका संरचना, त्यहाँ अपाङ्गता भएका व्यक्तिहरुलाई गरिएको नकारात्क व्यवहार, जसको कारणले उनीहरुले भोग्न परेका समस्याहरुलाई भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।
त्यसै गरी दोस्रो चरणमा अपाङ्गतालाई कसरी बुझ्न सकिन्छ, उनीहरुका समस्याहरु पहिचान गर्न के गर्नु पर्दछ भन्ने चेतना जगाउने भिडियोहरु पनि प्रस्तुत गरी ललितपुर महानगरपालिकाका २९ वटै वडाबाट सहभागीता जनाउनु भएका वडा सदस्यहरुलाई प्रष्ट पार्नु भएको थियो ।
यसै क्रममा ललितपुर महानगरपालिका वडा नं १६ की वडा सदस्य तथा कार्यपालिका सदस्य बबिता श्रेष्ठले आफ्नो वडा कार्यलय तथा अन्य सार्वजनिक भवनहरु मानव मैत्री तथा पहुँचयुक्त बनाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गर्ने भन्दै १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई वडा कार्यलयहरुमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी गराउनको लागि पनि पहल गर्ने बताउनु भयो ।
त्यसै गरी वडा नं २२ का वडा सदस्य रत्नभक्त महर्जनले मानव मैत्री तथा पहुँचयुक्त सरचना निर्माणका लागि वडा अध्यक्षको ध्यान केन्द्रित गर्ने, आफ्नो वडामा भएका अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवसाय मुलक सीप प्रदान गर्ने, सबै वडा बासीहरुलाई अपाङ्गताको विषयमा जानकारी गराउने बताउनु भयो ।
यस कार्यक्रममा आयोजक संस्था राष्ट्य शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले अपाङ्गताको परिभाषालाई प्रष्ट पार्दै सरकारी स्तरका सबै संरचनाहरु मानव मैत्री बनाउन पहल गर्नु पर्ने, अपाङ्गताका विषयमा सबै जनप्रतिनिधिहरुले जानकारी राख्नु पर्ने बताउनु भयो । साथै उहाँले समाजमा अपाङ्गता प्रतिको नकारात्मक सोचका कारण अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न चुनौतीहरुको सामना गर्न परेको भन्दै यस्तो नकारात्क सोच हटाउनका लागि सबै जनप्रतिनिधिहरुले आ-आफ्नो तर्फबाट सक्दो पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
उक्त कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारीले सबै नागरिकहरुले अपाङ्गता प्रतिको नकारात्मक सोच र अवरेधहरुलाई हटाउन जरुरी रहेको भन्दै अबका दिनमा सबै वडाका जनप्रतिनिधिहरुले अपाङ्गता प्रति सकारात्क सोच राख्दै वडा स्तरिय कार्यक्रमहरुमा अर्थपूर्ण सहभगीता गराउन पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा ललितपुर महानगरपालिका महिला तथा बालबालिका विभागकी प्रमुख महेश्वरी विष्टले सबै जनप्रतिनिधिहरुले अपाङ्गताका विषयमा जानकार हुनु पर्ने भन्दै उनीहरु मैत्री अर्थात मानव मैत्री भौतिक संरचना निर्माण गरी काम गर्ने र उनीहरुलाई पनि काम गर्ने अवसर प्रदान गर्नु पर्ने भन्दै आफ्नो तर्फबाट पनि अपाङ्गताको क्षेत्रमा आवश्यक सक्दो सहयोग गर्ने बताउनु भयो ।
सो कार्यक्रममा ललितपुर महानगरपालिकाका २९ वटै वडाबाट सहभागीता जनाउनस भएका वडा सदस्यहरुले अबका दिनमा आफ्नो वडा कार्यलय सबै नागरिकहरुलाई सहज हुने गरी पहुँचयुक्त बनाउने र वडामा हुने कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथामिकताका साथ सहभागी गराउन पहल गर्ने बताउनु भयो ।


