
१२ गते बैशाख २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
राजधानीमा २९ देशका १२७ जना गृह–श्रमिक अभियन्ताहरूको सहभागी सहित होमनेट इन्टरनेशनलको दोस्रो सम्मेलन सुरू भएको छ ।
होमनेट इन्टरनेशनलद्वारा आयोजित यस चारदिने सम्मेलनको मङ्गलवार सहभागी राष्ट्रका झण्डा सहित नेवाः सांस्कृतिक प्रस्तुती सहित उद्घाटन गरिएको हो ।
आर्थिक उपार्जनका लागि आफ्नै घर वा घर वरपर स्थानीय, राष्ट्रिय र विश्व बजारको लागि बस्तु उत्पादन वा सेवा प्रदान गर्ने श्रमिकलाई “गृह श्रमिक” मानिएको छ । होमनेट इन्टरनेशनलले संसारभरका १२ लाख गृह श्रमिकहरूको प्रतिनिधित्व गर्छ यस मध्ये ९५ प्रतिसत महिला छन् ।
कार्यक्रममा नेपालका गृह श्रमिक सङ्गठित संस्थामध्येकी एक सवा नेपालका अध्यक्ष अप्सरा डंगोलले यस सम्मेलनमा गृह श्रमिकले उत्पादन गरिएका सामग्री प्रदर्शन, होमनेट इन्टरनेशनलले आफ्ना प्राथमिक क्षेत्रबारे छलफल गर्ने र नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने बताउनु भयो ।
उहाँले चार दिन सम्म चल्ने सम्मेलनमा संसारकै गृह श्रमिकबीचको एकता र ऐक्यवद्धतालाई थप मजबुत बनाउन प्रत्यक्ष भेटघाट र यस क्षेत्रको चुनौति र अवसरबारेमा विश्वभरका गृह श्रमिकबीच खुलेर चर्चा हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा गृहश्रमिकको पहिचानका लागि अभियान थाल्नुहुने अभियन्ता चाँदनी जोशीले नेपाल, दक्षिण एसिया लगायत विश्वकै गृहश्रमिक बारे नीति निर्मातालाई बुझाउन र पहिचानका लागि ऐक्यवद्ध बनाउन गर्नुभएको सङ्घर्षबारे चर्चा गर्नुभयो ।
यस सम्मेलनमा ब्राजिल, कम्बोडिया, चिली, एल्सालभाडोर, थाइल्याण्ड, युगाण्डा, पाकिस्तान, भारत, उज्वेकस्थान, तान्जानीया, उरूग्वेलगायतका २९ देशका गृह श्रमिकको सहभागीता रहेको छ भने गृह श्रमिकले उत्पादन गरेका सामग्रीको प्रदर्शनी पनि रहेको छ ।


