
७ जेठ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
अपाङ्गता भएका महिलाहरूको महासंघ नेपाल अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूको छाता सङ्गठन हो । यस संस्थाले अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूको नेतृत्व तथा क्षमता विकास, वकालत, पैरवी, हिंसा न्यूनीकरण, न्यायमा पहुँच, अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै अपाङ्गता भएका महिलाहरूको आय-आर्जनका लागि पनि काम गर्ने गर्दछ ।
यसै क्रममा यस अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले यही जेठ ६ र ७ गते २ दिन सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशको सहयोगमा अपाङ्गता भएका महिलाहरूको सशक्तीकरणका लागि जनवकालत विषयमा २ दिने तालिम सञ्चालन गरी सम्पन्न पनि गरेको छ । यस तालिममा काठमाडौँ उपत्यकामा हरेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरूका अभिभावकहरूको सहभागी तामा आयोजना गरिएको तालिममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल र सचिव मिना पौडेलले सहजीकरण गर्नु भएको थियो ।
सो २ दिने तालिमको उद्घाटनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दलबहादुर कार्कीले अपाङ्गता हुँदैमा आफूलाई कमजोर सोच्न नहुने र घर परिवार तथा समाजले पनि नकारात्मक दृष्टिकोणले हेर्न नहुने बताउनु भयो । त्यसै गरी आगामी दिनमा अपाङ्गता भएका महिलाहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नका लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । साथै उहाँले यस वडाबाट सञ्चालन हुने विभिन्न तालिमहरूका कार्यक्रमहरूमा पनि अपाङ्गता भएका महिलाहरूलाई यसै आयोजक संस्था मार्फत समावेश गराउने प्रतिवदता व्यक्त गर्नु भयो ।
यसै क्रममा सोही वडाका वडा सदस्य मनोज कुमार डङ्गोलले अपाङ्गताका सवाललाई सबै निकायहरूले प्राथमिकताका साथ संशोधन गर्नु पर्ने र वडाबाट आवश्यक सहयोग गर्ने पनि बताउनु भयो । सो २ दिने तालिममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी सचिव मिना पौडेलले पैरवी, जनवकालत, बहस, अधिवाचन लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा वकालत गर्ने क्रममा सवाल र समस्यालाई पहिचान गर्नु पर्ने, ती सवालमा वकालत गर्ने, सवाल छनौट प्रक्रिया, लक्षित वर्गको पहिचान, कसका लागि र किन वकालत गर्ने भन्ने विषयमा जानकारी गराउनु भयो ।
त्यसै गरी आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले वकालत किन र कसरी गर्ने, वकालत गर्दा ध्यान दिनु पर्ने विषय वस्तुहरू, पैरवी गर्ने तरिका, सञ्चार माध्यमको प्रयोग, वकालतका प्रकारहरूका विषयमा सहजीकरण गर्नु भएको थियो । साथै उहाँले वकालत सामूहिक र सार्वजनिक हुने भन्दै रम तथा शान्त प्रकृयमा पैरवी गर्नु पर्ने पनि बताउनु भयो । यसका साथै पैरवी प्रक्रियाको विषयमा जानकारी गराउँदै अवधारणा पत्र कसरी तयार गर्ने भन्ने विषयमा पनि जानकारी गराउनु भएको थियो ।
यस तालिममा आयोजक संस्थाकी अध्यक्ष निर्मला धितालले पैरवीका तरिका अन्तर्गत कानुनको मस्यौदा, हस्ताक्षर अभियान, औपचारिक प्रतिवदता, वकालतको लागि ध्यानाकर्षण गराउने उपयाहरुको बारेमा पनि प्रस्ट पार्नु भयो भने संस्था भित्र र बाहिरको बलियो र कमजोर पक्ष, अवसर, चुनौती, रणनीति तयारी, सरोकारवाला मापन एवं अभिमतको दायरा, नीति नियमको विश्लेषण, वकालतका चरणहरूको बारेमा पनि सहजीकरण गर्नु भएको थियो ।
उक्त २ दिने तालिममा उहाँले जनवकालत पत्र र प्रेस विज्ञप्ति तयारी गर्ने विधि पनि सिकाउनु भयो । यसै क्रममा संस्थाको भूमिका, संस्थाको बारेमा जानकारी, सवालको मुख्य तथ्य, समस्या, समस्या समाधानका कुराहरू, माग, आधिकारिकता प्रदान, विषय वस्तु सम्बन्धित प्रमाणहरू जुटाउनु पर्ने, सरल र सभ्य भाषाको प्रयोग गर्नु पर्ने, तथ्याङ्कहरू समावेश गर्नु पर्ने लगायतका विषय बस्तुको बारेमा पनि विस्तृत जानकारी गराउनु भएको थियो ।


