
२१ जेठ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघले अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावकहरूका लागि यी जेठ १९ र २० गते गरी २ दिने मनोपरामर्श सम्बन्धी तालिम प्रदान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र काठमाडौँ महानगरपालिकाको समन्वयमा यही सञ्चालन गरिएको सो मनोपरामर्श सम्बन्धी तालिममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी सदस्य तथा नेपाल अपाङ्ग महिला संघकी महासचिव देवकुमारी पराजुलीले अपाङ्गता भएका व्यक्तिहरू तथा बालबालिकाहरिका लागि थेरापी सेवा अति नै आवश्यक हुने भन्दै फिजियो थेरापीको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले थेरापी सेवा कसका लागि, के का लागि र किन आवश्यक हुन्छ भन्ने विषयमा पनि प्रस्ट पार्नु भएका थियो । विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक हुने र डाक्टर तथा थेरापिष्टको सल्लाह र सुझाव अनुसार थेरापी गराउनु पर्ने बताउनु भयो ।
यस तालिमका क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेले मस्तिष्क पक्षाघात, अटिजम, श्रवणदृष्टिविहीन, बौद्धिक लगायत सहयोगी आवश्यकता हुने अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावकहरूलाई समय समयमा मनोसामाजिक परामर्शको आवश्यक हुने भन्दै अभिभावकहरूको शारीरिक, मानसिक तथा आर्थिक पीडा न्यूनीकरण गर्नका लागि यस्ता कार्यक्रमहरूमा सहभागी हुन जरुरी रहेको बताउनु भयो ।
सो २ दिने तालिममा भक्तपुरबाट सहभागी हुनु भएकी मस्तिष्क पक्षाघात अपाङ्गता छोरीकी आमा अर्थात् अभिभावक गोमा अधिकारीले २४ सै घण्टा अपाङ्गता भएका सन्तानका लागि खट्टिने अभिभावकहरूलाई यस्तो मनोपरामर्शका तालिमका कार्यक्रमहरू १ वर्षमा कम्तीमा पनि ४ पटक सम्म सञ्चालन गरी अभिभावकहरूलाई सहभागी गराउने व्यवस्था गर्नु पर्ने, यस्ता तालिमहरूमा बच्चाहरूलाई पनि सहभागी गराउन सिकियो भने उनीहरूको क्षमता विकासमा सहयोग पुग्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी किर्तिपुरबाट सहभागी हुनु भएकी मस्तिष्क पक्षाघात अपाङ्गता भएकी छोरीकी आमा तथा शुशीला मल्ले अभिभावकहरु र यस्ता बालबालिकाहरुका लागि मनोपरामर्श तालिमका कार्यक्रमहरु स्थानीय तहबाट पनि सञ्चालन गर्न जरुरी रहेको भन्दै यो तालिम अति नै उपयोगी र महत्वपूर्ण रहेको पनि बताउनु भयो ।
यस २ दिने मनोपरामर्श तालिममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा देवी पौडेलले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलाइने खेल नै बोसिया खेल हो भनेर जानकारी गराउदै बोसिया खेलको विषयम प्रस्तुतीकरण गर्नु भयो । साथै उहाँले यो खेल मस्तिष्क पक्षाघात तथा मस्कुलर डिष्ट्रोफी र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुले पनि खेल्न सक्ने भन्दै यसमा १३ वटा बल हुने, जसमा ६ वटा निलो, ६ वटा रातो एउटा सेतो रङ्को हुन्छ भने सेतो बललाई लक्षित बल मानिने पनि जानकारी गराउनु भयो । यस बोसिया खेलले शारीरिक, मानसिक, बौदिक विकास गर्ने, फिजियो थरापीको पनि काम गर्ने, समाजमा पुनर्स्थापना हुन मद्त गर्ने हुनाले यो खेल अति नै महत्वपूर्ण रहेको बताउनु भयो । यसै गरी अध्यक्ष गोमा देवी पौडेलले जापनी नागरिक ताकानोरी कोगा (Takanori Koga ) ले चितवनका मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिका लागि सहयोग गर्नु भएको ह्विलचियर मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि अभिभावक स्वावलम्बन समुह चितवनद्वारा सञ्चालित दिवा स्याहार केन्द्र चितवनका संरक्षक तथा संस्थापक अध्यक्ष लक्ष्मिकान्त घिमिरेलाई हस्तान्त्रण गर्नु भयो ।
अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुका लागि काठमाडौंमा आयोजना गरिएको २ दिने मनोपरामर्श तालिममा पद्मकन्या क्याम्पसकी प्रोफेसर डा.कविता खातीले मस्तिष्क पक्षाघात तथा अन्य अपाङ्गता भएका व्यक्तिहरु जसलाई २४ सै घण्टा सहयोगीको तथा संरक्षको आवश्यकता हुने व्यक्तिका अभिभावकहरुलाई पनि केही समय स्वतन्त्र हुने अवसर सृजना गर्नु पर्ने, ती अभिभावकहरुले पनि आफ्नो मनमा लागेका कुण्ठाहरु, कुराहरु व्यक्त गर्न सक्ने ठाँउहरुको व्यवस्था हुनु पर्ने बताउनु भयो । साथै उहाँले यस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसारको थेरापी सेवा उपलब्ध गराउनु पर्ने, अपाङ्गता भएकै कारण समाजले जे जस्तो भने भने अभिभावकले सकारात्मक सोचको विकास गर्नु पर्ने, बच्चालाई क्रियाशिल बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघले काठमाडौंमा २ दिन सम्म सञ्चालन गरेको अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुका लागि मनोपरामर्श तालिममा काठमाडौं उपत्यका र विभिन्न जिल्लाका अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरु सहित गरी ६० जना सहभागीता रहेको थियो ।


