
प्रल्हाद दाहाल
अध्यक्ष नेपाल डेरी एसोसिएसन
प्रत्येक वर्ष विश्वभरि जुन महिनाको ५ तारिखका दिन सन् १९७४ देखि आजभन्दा ४८ वर्ष अगाडिबाट विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाइन्छ । यसपालि “Beat Plastic Pollution” अर्थात् प्लास्टिक प्रदूषण विरुद्ध लागौँ भन्ने नाराका साथ विश्वभर कार्यक्रम गरिएको छ । विश्वभर हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छ । जस मध्ये ५० प्रतिशत प्लास्टिक केवल एक पटक मात्र प्रयोग गर्न मिल्ने गरि बनाइएको हुन्छ । यसले गर्दा अहिले विश्वमा प्लास्टिक प्रदूषणले आक्रान्त गरिरहेको छ । त्यसैले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ । यो कुरालाई मनन गरि हामीले हाम्रा बालबालिकालाई यो कुरा बुझाई आउँदा दिनहरुमा वातावरण बचाउन लाग्नुपर्छ भन्ने कुराको शिक्षा दिनुपर्छ। यो महत्वपूर्ण दिनबाट बालबालिकाले सकभर पलास्टिक प्रयोग नै नगर्ने र प्रयोग गर्नै परे पनि जताततै नफाल्न हरेक विद्यालयमा शुरु गर्नुपर्छ । यो समयमा विद्यार्थीहरुलाई हामीले अब हरेक विद्यालयमा वातावरणको महत्व बुझाउने खालको जनचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्छ ।
विश्व वातावरण दिवस मनाइरहँदा हामीले आजभोलि गरेका क्रियाकलापले हामीलाई सताइरहेको छ । यस विषयमा गम्भीर भएर सोच्नु पर्ने बेला भएकोछ । वन विनास, वन्यजन्तुको आवासमा अतिक्रमण, तीव्र कृषि र जलवायु परिवर्तन लगायत मानवीय कार्यहरूले प्रकृतिमाथि ज्यादतीको सीमा नाघेको अवस्था र त्यसको प्रत्यक्ष असर जैविक विविधतामा पर्न गएको हुदाॅ जैविक विविधता नष्ट गर्ने कामलाई निरूत्साहित गरेर प्रकृतिको सुरक्षा, जैविक विविधताको रक्षा, वातावरणको स्वच्छताका लागि प्रकृति विरुद्ध नभई प्रकृतिसँग मिलेर बाच्ने वातावरणका लागि हामी सबैको सकारात्मक सोचको विकास हुनु पर्दछ । जीवन र प्रकृति बीचको सम्बन्ध हामी सबैले बुझ्न आवश्यक छ। विभिन्न कार्यक्रम सहित विश्व वातावरण दिवसको उपलक्ष्यमा थुप्रै कार्यक्रमहरु गरिन्छ । तर कार्यक्रम गर्यो अनि सबैले त्यसपछि बिर्सने गर्दछन । त्यसैले त वनजंगल, पानी, हिमाल, अन्य प्राकृतिक कुराहरु सबै बिनासतिर गइसकेका छन् । यसको जिम्मेवारी कसले लिन्छ? यो प्रश्न अहिले जटिल बनेर आएको छ । तर यसको उत्तर भने कसैसँग पनि छैन । हामी आफूलाई फाइदा हुँदा अरु कुनै पनि कुराको मत्लब नै गर्दैनौं । तर हामी जति नै राम्रो भए पनि यदि प्रकृतिलाई बचाउन सकेनौं भने एकदिन हामी सबैले त्यसको नोक्सानीको जिम्मेवारी लिनुपर्ने हुन्छ ।
कुनै पनि कुरा भनेर मात्र हुँदैन । यसका लागि हरेक बालबालिकालाई वातावरणसँग सम्बन्धित कार्यहरुमा, सरसफाइमा, बोटबिरुवाको संरक्षणमा प्रत्यक्ष सहभागी गराउनु पर्छ । यसो गर्न सक्दा व्यवहारिक ज्ञान मिल्ने र बालबालिकालाई फोहर प्रति सचेत रहने छन् । यस्तो कार्यले बालबालिकामा सकारात्मक सोचको विकास हुनेछ । अब हामी सबै लागेर जताततै पलास्टिक नफाल्न र सकभर प्रयोग नै नगर्न सबैलाई अनुरोध गर्नु पर्ने समय भइसकेको छ। होइन भने अबको केही वर्षपछि विश्वमा पलास्टिक ठूलो समस्या भएर निक्लनेछ । हामी मानवले वातावरण बचाउन सक्दा मात्र हाम्रो पनि हित हुनेछ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।


