
९ असार २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ
सङ्घीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यले विभिन्न ऐन, कानुन, नीति नियम बनाएको भए पनि पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो । अब ती ऐन, कानुन, नीति नियमलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरू तथा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सबै एक जुट भएर राज्य, सरोकारवाला निकाय तथा विभिन्न राजनीतिक दलका निकायहरूलाई दबाब दिँदै ध्यानाकर्षण गर्नु पर्ने कुरामा जोड दिनु भयो । सक्षम नेपालले काठमाडौँ महानगरपालिका ७, ८ र ३० वडा कार्यालयको सहकार्यमा शनिवार राजधानीमा आयोजना गरिएको काठमाडौँ क्षेत्र नं ४ प्रदेश “क” मा रहेका जनप्रतिनिधिहरूसँग अपाङ्गता भएका व्यक्तिहरूको सवालका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । यसै क्रममा उहाँले अबका दिनमा प्रत्येक वडाहरूले पूर्ण तथा अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि वडाबाट नै सहयोगीको व्यवस्था सहितक दिवा सेवा केन्द्र सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
यसै गरी काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सचिव तथा प्रशासकीय प्रमुख देवराज जोशीले काठमाडौँ महानगरपालिका र यसका वडाहरूबाट अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक र प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न नसकेको स्विकार्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अपाङ्गता भएका व्यक्तिहरूले मागहरू समावेश गरी जनप्रतिनिधिहरूलाई सचेत गराउन आग्रह गर्नु भयो ।
यसै क्रममा यसै वडाका वडा अध्यक्ष दलबहादुर कार्कीले वडाका सबै कार्यक्रमहरूले अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई संशोधन गर्नु पर्ने र आगामी दिनमा आवश्यक सहयोग गर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाf उपाध्यक्ष अनिता घिमिरेले काठमाडौँ महानगर लगायतका अन्य निकायका जनप्रतिनिधिहरूले पनि अपाङ्गताका विषयमा जानकारी लिन जरुरी रहेको भन्दै उनीहरूको सहज जीवन यापनका लागि सीप मूलक तालिमहरू सञ्चालन गर्नु पर्ने
बताउनु भयो । साथै उहाँले अपाङ्गतालाई विशेषसँग भन्दा पनि अधिकारका लागि वकालतका काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यस अन्तरक्रिया कार्यक्रममा वडा नं १ की वडा सदस्य सरला तण्डुकारले अपाङ्गता सम्बन्धीका कार्यक्रमहरूमा जनप्रतिनिधिहरूलाई पनि सहभागिता गराएर अपाङ्गताका विषयमा जानकारी गराउनु पर्ने बताउनु भयो ।
त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका महासचिव गणेश के.सी.ले प्रत्येक वडाहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि सामुदायिक सहायता केन्द्र स्थापना गर्नुका साथै अन्य कार्यक्रमहरूमा पनि सहभागिता गराउनु पर्ने बताउनु भयो ।
जनप्रतिनिधहरुसँग गरिएको सो अन्तरक्रिया कार्यक्रममा स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि नेपाल सरकारले गत वर्ष रु ५ लाखको सहयोग उपलब्ध गराउने निर्णय गरेको भए पनि उक्त निर्णय आज सम्म पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अबका दिनमा उक्त निर्णय कार्यान्वयन गराउनका लागि सम्बन्धित तथा सरोकारवाला निकायले पहल गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका कोषाध्यक्ष कुमार रेग्मीले सबै वडा कार्यलयहरुमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूको सञ्चारका लागि दोभासेको व्यवस्था गर्नु पर्ने, सीप मूलक आय-आर्जनाका कार्यक्रमहरू पनि सञ्चालन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
काठमाडौँ क्षेत्र नं ४ प्रदेश “क” मा रहेका जनप्रतिनिधिहरूसँग अपाङ्गता भएका व्यक्तिहरूको सवालका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रममा आयोजक संस्था सक्षम नेपालका अध्यक्ष बीरु कमल श्रेष्ठले सक्षम नेपालले स्थापना काल देखि नै अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकारका लागि काम गर्दै आएको भन्दै स्थानीय निकायका जनप्रतिनिधिहहरुलाई पनि अपाङ्गता भएका व्यक्तिहरूका विषयमा जानकारी गराउने उद्देश्यले यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो र साथै उहाँले यस कार्यक्रमले अबका दिनमा स्थानीय निकाय तथा जनप्रतिनिधिहरू पनि अपाङ्गता भएका व्यक्तिहरू प्रति संवेदनशील हुने र वडा तथा स्थानीय निकायका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समावेश गर्न सचेत गराउन सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा न्यून दृष्टियुक्त अपाङ्गता भएका व्यक्ति कीर्तन श्रेष्ठ दुलाले अपाङ्गताको परिभाषा, प्रकार, परिचय पत्र, परिचय पत्रका आधारमा प्राप्त गरिने सेवा सुविधा, मर्यादित शब्दको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अपाङ्गता अधिकारकर्मी तथा शारीरिक अपाङ्गता भएका व्यक्ति विकास थापाले अपाङ्गता मैत्री संरचना नहुँदा भोग्न परेका चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस कार्यक्रममा सक्षम नेपालद्वारा श्रवणदृष्टिविहीन अपाङ्गता भएकी बालिका नेहा धौबन्जारलाई एक थान सेतो छडी पनि निःशुल्क प्रदान गरिएको थियो । यस अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएका वडाका जनप्रतिनिधिहरूले आगामी दिनमा वडाका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सहभागी गराउने, उनीहरूका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवदता व्यक्त गर्नु भएको थियो ।


