काभ्रेको पाँचखाल ज्यामिरकोटमा अवस्थित ज्ञानोदय आधारभूत विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालय हाताभित्र सरसफाई कार्यक्रम, विद्यार्थीलाई २०८० सालको छात्रा छात्रवृत्ति वितरण कार्यक्रम र दहि चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरियो ।
विद्यालयमा विद्यार्थी भाइ बहिनीहरूलाई दहि चिउरा खुवाउँदै असार १५ को महत्व, बृक्षारोपणको महत्व, सरसफाइ आदिको बारे जानकारी गराइएको विद्यालय व्यवस्थापन समितिका सदस्य शोकनाथ गौतमले बताउनु भयो । विद्यालयका प्र.अ. मेघनाथ अधिकारीले धान दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना ब्यक्त गर्दै किसानको दु:खको बारे चर्चा गरिएको, आम नेपाली किसान, दाजुभाइ तथा दिदीबहिनीहरुलाई सदा अन्तर मनबाटै सम्मान गर्नुपर्ने कुरा विद्यार्थीहरुलाई सिकाउँदै प्रायः सबै विद्यार्थीहरु गाउँमै बस्ने भएकोले आफ्ना बाबा आमालाई खेतीपाती गर्ने समयमा फुर्सद हुँदा सघाउनु पर्ने र काम सिक्नुपर्ने कुरा विद्यार्थीलाई सिकाइएको प्र. अ. मेघनाथ अधिकारीले बताए । कार्यक्रममा विद्यालय परिवारको तर्फबाट यस बर्ष रोपिएको र रोपिने धानको उत्पादनमा राम्रो सफलता मिलोस् भन्दै विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गरिएको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गराए ।