चितवनका ५ विद्यालयका ६ विद्यार्थीले ल्याए ४ जिपिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० असार २३ गते, शनिबार ०७:१६

भविष्यमा आईटी क्षेत्रमा लाग्ने लक्ष्य ः प्रशान्त काफ्ले “
राजु भट्ट भरतपुर ।चितवनका ५ विद्यालयका ६ विद्यार्थीले ४ जिपिए ल्याई सर्वोकृष्ट स्थान हासिल गरेका छन् । राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार चितवनमा यसबर्ष एसईईको नतिजा गतबर्ष भन्दा सुधार भएको देखिन्छ ।
शिक्षा विकास समन्वय इकाई चितवनका प्रमुख भुमिलाल सुवेदीले चितवनबाट आदर्श पब्लिक स्कुल भरतपुरका १ जना, नारायणी पब्लिक स्कुल भरतपुरका २ जना, ज्ञानदर्शन बोर्डिङ स्कुल भरतपुरका १ जना, नारायणी नमूना मावि भरतपुरका १ जना र एकता शिशु शिक्षा निकेतन बोर्डिङ स्कुल रत्ननगरका १ जना गरी ५ विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।

२०७९ सालको एसईईमा आदर्श पब्लिक स्कुल भरतपुरबाट ४ जिपिए ल्याउन सफल प्रशान्त काफ्लेले आफूलाई थप जिम्मेवारी थपिएको र भविष्यमा आईटी क्षेत्रमा लाग्ने लक्ष्य रहेको बताए । काफ्लेले आफूलाई यहाँसम्म ल्याउन अहोरात्र खटी शैक्षिक मार्गदर्शनमा पु¥याउने अभिभावक, विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिकाहरु, सहयात्री साथीहरुलाई आभार समेत व्यक्त गर्नुभयो ।
त्यस्तै आर्दश पब्लिक स्कूलबाट ३.९५ जिपिए ल्याउन सफल प्रतिका क्षेत्रीले भविष्यमा आफू एक सफल चार्टड एकाउन्टेण्ट (सिए) बन्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले भेटघाटको अवसरमा स्कूलका प्राचार्य, शिक्षक–शिक्षिकाहरुको अथक मेहनत र आफ्नो लगनशिलका कारण आज यो स्थानमा पुगेकोले आफूले अबका दिनमा अझै मेहनत र परिश्रमका साथ अगाडि बढ्ने बताउनुभयो ।

आदर्श पब्लिक स्कुल भरतपुरबाट १८ जना विद्यार्थीहरु एसईईमा सामेल भएको विद्यालयका प्राचार्य शिव के.सी.ले बताउनुभयो । उहाँले स्कूलबाट एसईई दिने सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको कामना समेत गर्नुभयो ।
सोही अवसरमा विद्यार्थी प्रशान्त काफ्लेका अभिभावक चन्द्रकान्त काफ्लेले आफूले आफ्ना सन्ततीहरुको शैक्षिक क्षेत्रमा गरेको अथक मेहनतको फल प्राप्त गरेको महशुस गर्नुभयो । उहाँले स्कूलका प्राचार्य, शिक्षक–शिक्षिकाहरुको कार्यशैली, लगाव, मेहनतका कारण आज यो सफलता प्राप्त भएको समेत बताउनुभयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश कँडेलले विद्यालयको भवन, क्षेत्रफल ठूलो सानो भएर विद्यालयको स्तर वृद्धि हुने भन्दा पनि तहाँ भित्र हुने शैक्षिक गतिविधिले त्यस विद्यालयको स्तर वृद्धि गर्न ठूलो महत्व हुने विद्यार्थीहरुबाट प्राप्त नतिजाले देखाएको बताउनुभयो ।
चितवनबाट यस बर्ष ३.६ देखी ४ जिपिए ल्याउने ६ सय ९५ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने १५सय ९९ जना, २.८ देखी ३.२ जिपिए ल्याउने १९ सय १७ जना, २.४ देखी २.८ जिपिए ल्याउने २१ सय ४२ जना, २.० देखी २.४ जिपिए ल्याउने २१ सय ४३ जना, यसैगरी १.६ देखी २ जिपिए ल्याउने १६ सय ६७ जना, १.२ देखी १.६ जिपिए ल्याउने ४ सय ७० जना, ०.१ देखी १.२ जिपिए ल्याउने १५ जना रहेका छन् । २०७९ को एसईईमा चितवनबाट १० हजार ८ सय ५४ जनाले परिक्षा दिईएकोमा १० हजार ६ सय ३९ जना पास भएका छन् भने २ सय १५ जना अनुपस्थित भएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु