काठमाडौ । चलचित्र पत्रकार संघको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार काठमाण्डौं स्थिित सिलौटो कटेजमा सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक तथा कलाकार दीपाश्री निरौला, नायिका केकी अधिकारी, चलचित्र विकास बोर्डका सदस्य के एल बुढाथोकी र निर्देशक नवल नेपाल, पत्रकार तथा निर्देशक फूलमान बल प्रमुख वक्ताको रुपमा उपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक नवल नेपालले फिल्म पत्रकार र कलाकारहरु दुबैले एक अर्का प्रति जे जस्तो व्यवहार गरीन्छ आफूलाई पनि त्यस्तै व्यवहार आउँछ भन्ने कुरा वुझ्नुपर्ने र मिडियाले फिल्म क्षेत्रमा योगदान पुर्याएका पुराना कलाकर्मीहरुलाई पनि संझनुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले नेपाली फिल्म क्षेत्रमा मिडियाको निकै प्रभाव रहेको बताइन् । उनले नेपाली फिल्म क्षेत्रमा सक्रिय पछिल्लो पुस्ताका निर्देशकहरु पनि पत्रकारिता बाटै आएको उल्लेख गर्दै फिल्मको विकासमा मिडियाको प्रभाव बलियो रहेको तर्क दिइन् ।
कार्यक्रममा बोल्ने क्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्मीकर्मी र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तै भएको बताइन् । दीपाले पछिल्लो समय प्रत्येक मानिस नै मिडिया जस्तो भएको भन्दै पत्रकारहरुले गहिराइमा पुगेर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् । पहिले पहिले आफू अन्तरवार्ता दिन भनेपछि उत्साहित हुने गरेको तर अहिले मिडियाको प्रश्न बन्दुक सोझ्याए जस्तो लाग्न थालेको बताउँदै उनले भनिन्–‘पहिले पहिले कलाकारहरुलाई मिडियाले टिकाउने गर्थे । तर, अहिले विकाउने गर्छन् ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले पूर्वाग्रही ढंगबाट समाचार आउने गरेको भन्दै मिडियाले सत्यतथ्य वुझेर समाचार लेखिदिएको खण्डमा कलाकारहरुले न्याय पाउने तर्क गरे । उनले, पेशाकर्मीहरुको परिचय हलबाट एउटा र मिडियाबाट अर्को रुपमा जाने भन्दै मिडियाको प्रभाव नेपाली फिल्ममा सबैभन्दा बढी भएको बताए ।
पत्रकार तथा निर्देशक फूलमान बलले मिडियाकर्मी र फिल्मीकर्मीबिच दुरी परिस्थितीले सिर्जना गरेको बताए । उनले भने–फिल्म क्षेत्र आफैमा व्यवसायिक छैन भने मिडिया पनि कसरी व्यवसायिक हुन सक्छ र रु हामी एउटा फिल्म राम्रो बन्यो भन्दैमा फिल्म क्षेत्र नै उभो लाग्यो भन्न सक्दैनौं । यसैले, सबैभन्दा पहिला फिल्म क्षेत्रलाई नै विकास गर्नका लागि सबैले लाग्न आवश्यक छ ।’ कार्यक्रमको अन्तिममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले संघले हरेक महिना एउटा बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जानकारी दिए।