
भूमिकला पौडेल-
रेन्बो डिसेबिलिटी नेपाल तथा राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकारका विषयमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकारका विषयमा कतैबाट पनि आवाज नउठेको संदर्भमा उनीहरूको अधिकारका विषयमा अभिमुखिकरण गर्ने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।
रेन्बो डिसेबिलिटी नेपालका अध्यक्ष आदित्य राईले अपाङ्गता भएका व्यक्तिहरूको संदर्भमा होस अथवा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकारका विषयमा आवाज उठाउँदा होस, कहिँकतैँबाट पनि अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकारका विषयमा आवाज नउठ्ने गरेको गुनासो गर्दै उनीहरूको अधिकारको पनि सम्मान हुनुपर्ने र सबै क्षेत्रबाट समावेशिताको लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा एक त अपाङ्गता, त्यसमा पनि लैङ्गिक तथा यौनिक अल्पसंख्यक वर्गभित्र परेको कारणले अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूले आफ्नो पहिचान लुकाएर बस्न बाध्य हुनुपरेको र पहिचान खुलेकाहरूले पनि समाजमा अपमानित हुनुपरेको तथा विभिन्न विभेदहरू सहेर बस्नु परेको अवस्था भएको हुँदा उनीहरूको अधिकार तथा आत्मसम्मानका लागि सबैतिरबाट आवाज उठ्नु पर्ने विषयमा व्यापक छलफल गरिएको थियो ।


