वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला, छुट र दैनिक उपहार योजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ५ गते, मंगलवार १५:०८

काठमाडौ ।नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ । वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो ।
विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गर्न लागिएको डिइसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए । उनका अनुसार यस पटकको मेलालाई ए एस इभेण्ट्स एण्ड मार्केटिङले प्रवद्र्धन तथा व्यवस्थापन गर्नेछ ।
भदौ ६ गतेदेखि १० गतेसम्म ५ दिन चल्ने मेलामा १०० भन्दा बढी स्टल रहनेछन् । तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै महिलाहरुलाई एकै स्थानमा दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसीसीका प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।
उनका अनुसार सबै स्टल बुकिङ भईसकेका छन् भने गैरनाफामुलक संस्थाहरुलाई मेलामा निशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइनेछ । विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरुको व्यवसाय बिस्तार एवं प्रवद्र्धनको लक्ष्य सहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।
नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताहरुको सहभागिता रहने मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिने व्यवस्था गरिएको ए एस मार्केटिङका प्रबन्ध निर्देशक अनिल श्रेष्ठले बताए । विगत वर्षको तुलनामा नयाँ किसिमले मेलाको व्यवस्थापन गरिएकाले बिक्रेता, प्रदर्शक तथा अवलोकनकर्ता र उपभोक्ताले मेलाबाट फाइदा लिन सक्ने श्रेष्ठको भनाई छ ।
कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्ताहरुलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । ट्रेड सेन्टरमा रहेका रेस्टुरेण्टहरुमा अजलोकनकर्तालाई छुटको व्यवस्था गरिनुका साथै विभिन्न किसिमका सामग्रहरुमा भारी छुटको व्यवस्था गरिएको डिएसीसीले जनाएको छ ।
डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु