आदिवासी जनजाति अपाङ्गता महिला सम्बन्धी राष्ट्रिय परामशर्ष गोष्ठी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र ५ गते, मंगलवार १९:१९


५ भदौ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल ( निडवान) आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूको हक हित र अधिकार सुनिश्चित गर्नका लागि स्थापना गरिएको एक गैरसरकारी सामाजिक संस्था हो । यस संस्थाले आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका लागि काम गर्ने क्रममा हिजो भदौ ४ गते सोमबारका दिन Aipp को सहयोगमा आदिवासी जनजाति र अपाङ्गता भएका महिलाहरू विरुद्ध हुने हिंसा, भेदभाव सम्बन्धी राष्ट्रिय परामर्श कार्यक्रमको आयोजना गर्योा ।

कार्यक्रममा सहजकर्ता तथा श्रोत व्यक्ति प्रविन्द्र शाक्यले नेपालमा भएका आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका लागि ऐन, कानुन, नीति नियमको बारेमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले सन् २०२० मा कोभिडको समयमा आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूले के कस्ता हिंसाहरू भोग्न पर्योो भनी अध्ययन अनुसन्धान गरिएको र १० जनामा ९ जनाले छुट्टै प्रकारको हिंसा भोग्न परेको पाइएको बताउनु भयो । साथै उहाँले अबका दिनमा आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका विभिन्न हिंसाहरू न्यूनीकरण गर्नका लागि उनीहरू लक्षित कानुन बनाउन जरुरी रहेको पनि बताउनु भयो ।

यस कार्यक्रममा प्रमुख अतिथि एवं आदिवासी जनजाति आयोगका सदस्य रिना रानाले अन्य महिलाहरूको तुलनामा आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू हरेक कुरामा पछाडि परेको, अवसरबाट वञ्चित रहेको भन्दै अबका दिनमा सबै एक जुट भएर उनीहरूका सवालहरूलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले उनीहरूको मानव अधिकारलाई अन्तर्राष्ट्रिय दृष्टिकोणबाट राष्ट्रिय स्तरमा लैजानु पर्ने कुरामा जोड दिनु भएको थियो ।

त्यसै गरी आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) का अध्यक्ष प्रतिमा गुरुङले आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूको नीतिगत सारांशको बारेमा सरोकारवाला निकायहरूसँग समन्वय र सुझावको लागि राष्ट्रिय स्तरको छलफल कार्यक्रमको आयोजना गर्नु पर्ने बताउनु भयो । यसै क्रममा उहाँले अब आउने CRPD / CEDAW को प्रतिवेदनमा समावेश गरिएको संघिय, प्रदेश र स्थानीय सरकारहरूसँग आदिवासी
जनजाति अपाङ्गता भएका व्यक्तिहरू र महिलाको विभेद र हिंसा सम्बन्धी नीतिगत प्रावधान र कार्यान्वयनका लागि वकालत र पैरवी गर्न जरुरी रहेको पनि बताउनु भयो ।
सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य कुमारी उरावले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार सुनिश्चित गर्ने कार्यमा राष्ट्रिय मानव अधिकार आयोगले पनि काम गर्दै आएको भन्दै जति पनि बनेका ऐन कानुन तथा नीति नियमहरू पूर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस राष्ट्रिय परामर्श कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष अनिता घिमिरेले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क हुनु पर्ने भन्दै आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको पनि सही तथ्याङ्क ल्याउनको लागि सबै एक जुट भएर काम गर्नु पर्ने बताउँदै यस कार्यमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सहकार्य गरी काम गर्ने कुरामा जोड दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु