भदौ १० गते- पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसंगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यु १५ जिम्न्यासाइड २०२३ मा नेपालको यात्रा समाप्त भएको छ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा यहि भदौ ३ देखि १० गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ काश्य गरी कुल ३ पदक जित्न सफल भयो।
नेपाली टोलीका प्रमुख मोहन कार्कीले प्रतियोगितामा नेपालको प्रदर्शन प्रति सन्तोष ब्यक्त गरेका छन्।
उनले भने – “ विश्वका उत्कृष्ट राष्ट्रका खेलाडीहरुमाझ नेपाली खेलाडीहरुले गरेको प्रदर्शन र प्राप्त पदकबाट हामी सन्टुष्ट छौं।सरकारले विद्यालय खेलकुदमा लगानी थप्न सके आगामी दिनमा अझ पदक वढाउन सकिन्छ। “ । ४४ देशका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेकोमा नेपालबाट पाँच खेलका १९खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल प्रथम र चीनले दोस्रो स्थान प्राप्त गर्न सफल भयो।
रियो डी जेनेरोको ओलिम्पिन पार्कमा शनिवार तेक्वान्दो, पौडी र टेबल टेनिसमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। जसमा कुनै पनि खेलाडीहरुले सफलता प्राप्त गर्न सकेनन्।
५० मिटर गर्ल्स फ्रि स्टाइलमा ३५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। त्यसमा आफ्नो हिटमा श्रेयला पहिलो, आरुशा दोस्रो र संयमी तेस्रो भइन्। तर उनीहरुले हिट चरण भने पार गर्न सकेनन्। त्यसैगरी ५० मिटर ब्वाइज फ्रि स्टाइलमा सुगम श्रेष्ठ सिन्या पनि हिट चरणबाटै बाहिरिए।
स्वर्ण पदकको आशा गरिएका तेक्वान्दो खेलाडी उज्वल वाग्ले ६५ केजी माथी तौल समुहको क्वार्टर फाइनलमा साइप्रसका प्रतिद्धन्दीसंग पराजित भए।