” जनै पुर्णिामा, हाम्रो संस्कृती र परम्परा “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार १३:४२

प्रल्हाद दाहाल

नेपाल चाड पर्वै पर्वको देश हो । यहाँ अनगिन्ती चाड पर्वहरु मनाइन्छन्। ती धेरै मध्ये श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व पनि एक महत्त्वपूर्ण पर्व हो । यस दिन देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइन्छ । यस दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र अर्थात रक्षा बन्दन बाँध्ने गर्दछन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सदा सुरक्षा प्राप्त हुने धार्मिक विश्वास पनि रहेकोछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले बलवान दानवराजलाई बिचलित नहोउ भन्दै रक्षा बन्दनको डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका साथ आजसम्म पनि त्यहि आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ । यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जानकारी रहेकोछ।

यस दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने प्रचलन शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बस्ने चलन हो । तर विडम्बना भन्नुपर्छ यस्तो कुरा नयाँ युवा पुस्तामा हराउँदै गएको छ । यो सुन्दा सामान्य लाग्दछ तर विषय जटिल छ। यसलाई बेलैमा हामीले सरक्षण गर्नुपर्ने हुन्छ ।

तर आजभोलि यो परम्परा हराउँदै गएको छ। वरक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि मानिसहरु पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न स्थानमा रहेका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो ( सर्दी ) निकाली गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने यस दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाउँछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक एवं पौराणिक मान्यता छ । काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुकल पूर्णिमाका दिन बिहानैदेखि ठूलो मेला लाग्ने गर्दछ। सो मेलामा पायक पर्ने विभिन्न स्थानबाट भक्तजनहरु आउने गर्दछन् । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । मेलामा सबैले स्नान गर्ने गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ। कुश, दुवोको प्रयोग गरेर स्नान गर्दा शारिरिक स्वस्थताको साथै मानसिक र आध्यात्मिक हिसाबमा पनि स्वस्थ भइन्छ भन्ने जनविश्वास समेत रहि आएको छ । जनैले ऋषिमुनिहरुको परम्परा र संस्कारलाई सम्झाउँछ । शास्त्रीय मान्यताअनुसार ब्राह्मणत्वको लागि जनै चाहिन्छ र जनै नलगाउने व्यक्तिले त्यो ब्रह्म तत्वलाई प्राप्त गर्न सक्दैन । ब्राह्मणले व्रतबन्ध गरेपछि विवाह गर्नुभन्दा अगाडि ३ डोराको मात्रै र समावर्तन गर्नुभन्दा अगाडि ३ डोरा गरेर ६ डोराको जनै लागाउने प्रचलन छ ।

तीन सरा भएको जनैलाई तेब्राउँदा ९ वटा सरा भएको एउटा धागो हुन्छ यस किसिमको धागोबाट जनै बन्छ । ९ वटा सरामा अलग–अलग देवताहरु हुन्छन् । अलग–अलग देवताहरुको पूजासहित ती देवताको शक्तिलाई प्राप्त गर्नुपर्छ भन्ने भावनाका साथ जनै लगाइन्छ । जनैमा ३ वटा शिखाहरु हुन्छन् । ती शिखाहरुमा सप्तगुण, रजोगुण, तमोगुण, तथा ब्रह्म, विष्णु, महेश्वर गरी ३ गुण, ३ तत्व, ३ परिस्थिति, ३ स्वभाव जस्ता अलग–अलग त्रिकोणात्मक विषयहरु समेट्ने काम ३ वटा शिखाहरुले गर्दछ।ा

हामीले हाम्रा संस्कृती र परम्परा निरन्तर बचाउन लाग्नु पर्छ । हाम्रा बालबालिकालाई यस सम्बन्धि जानकारी गराउँदै जानुपर्छ । अब हामीले यसलाई पुस्तान्तण गर्न सकेनौ भने सबै हाम्रा पुराना परम्परा लोप हुँदै जानेछन् । यसका लागि अब विद्यालयका पाठ्यक्रममा यी यस्ता विषय समाबेश गराउनुपर्ने हुन्छ । त्यसपछि हाम्रो घरपरिवार समाजमा हामीले यसलाई निरन्तरता दिदै जानुपर्छ । होइन भने यस्ता कुराहरु केहि वर्ष पछि नै एका देशका कथा हुनेछन् । अब सम्बन्धित सरोकारवाला हामी सबै यसमा आजैबाट लागौं । हाम्रो परम्परा, धर्म, संस्कृती जोगाउन सक्दा मात्र हाम्रो पहिचान जोगिने हुन्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु